
घोराही,१४ जेष्ठ ।
गुरुकुल एकेडेमीले विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले घोराही, लमही र तुलसीपुर शाखाका विद्यालय कप्तान, उपकप्तान तथा विभिन्न सदनका कप्तान र उपकप्तानहरूलाई लक्षित गर्दै नेतृत्वदायी भूमिका निर्वाह सम्बन्धी विशेष तालिम कार्यक्रम सम्पन्न गरेको छ । गुरुकुल एकेडेमी घोराहीमा आयोजित उक्त कार्यक्रम गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो । तालिम कार्यक्रममा तीनवटै शाखाका करिब ३० जना विद्यार्थी लिडरहरूको सक्रिय सहभागिता रहेको थियो । साथै शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको कार्यक्रमले विद्यार्थी नेतृत्व विकासमा थप ऊर्जा प्रदान गरेको थियो । कार्यक्रममा प्रशिक्षक निशान्त आचार्यले विद्यार्थी नेतृत्व, जिम्मेवारीबोध, अनुशासन, सञ्चार कला, समूह समन्वय तथा विद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा अपनाउनुपर्ने व्यवहारिक पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।
उहाँले विद्यार्थी नेता केवल पदमा सीमित नभई विद्यालयको अनुशासन, सकारात्मक वातावरण निर्माण तथा साथीहरूलाई प्रेरित गर्ने जिम्मेवार व्यक्तित्व हुनुपर्ने बताउनुभयो ।सहजिकरणका क्रममा विवेक देबकोटाले विद्यालय जीवनमै नेतृत्व विकास गर्न सके भविष्यमा सफल नागरिक बन्न सहज हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मविश्वासी, जिम्मेवार र सिर्जनशील बन्न आग्रह गर्नुभयो । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक प्रदीप राजभण्डारीले गुरुकुल एकेडेमीले शैक्षिक गतिविधिसँगै विद्यार्थीहरूको व्यक्तित्व तथा नेतृत्व विकासलाई पनि प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विद्यालय कप्तान तथा सदनका नेतृत्वकर्ताहरू विद्यालयको अनुशासन र सकारात्मक संस्कृतिका प्रतिनिधि भएकाले उनीहरूलाई समयानुकूल तालिम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले तालिमबाट नेतृत्व सम्बन्धी नयाँ ज्ञान, व्यवहारिक सीप तथा जिम्मेवारी निर्वाह गर्ने प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिएका थिए । गुरुकुल एकेडेमीले आगामी दिनमा पनि यस्ता विद्यार्थी केन्द्रित तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।गुरुकुल एकेडेमी घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमी लमहीका शैक्षिक निर्देशक विवेक देबकोटाले गर्नुभएको थियो भने तालिमको मुख्य प्रशिक्षकका रूपमा निशान्त आचार्य रहनुभएको थियो ।



लाइभदाङ । १४ जेष्ठ २०८३, बिहीबार २०:४९ बजे