दाङमा ३०० बेडको अस्पताल उद्घाटन, सेवा असोज अन्तिमदेखि

दाङ, ६ असोज । दाङमा तीन सय बेडको सञ्जिबनी अस्पतालको सोमबार उद्घाटन गरिएपनि असोज अन्तिम सातादेखि मात्रै सेवा दिइने भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ भानपुरमा उक्त अस्पतालको उद्घाटन गरिएको हो ।

जसलाई सञ्जिबनी शिक्षण अस्पतालका रुपमा प्रस्ताब गरिएको छ । अस्पतालसंगै शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन गर्ने योजना अनुरुप दाङमा उक्त अस्पताल सञ्चालन गरिएको अस्पतालका सिइओ दीपक रोकाले बताए ।“हामीले हाल तीनसय बेडको अस्पताल सञ्चालन गरेर सेवा गर्ने छौं”,उनले भने“अस्पताल सञ्चालन गरेको तीन बर्षपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालन गर्न मिल्छ, त्यसपछि हामीले कार्यक्रम सुरु गर्छौं ।” अस्पताल सञ्चालनकालागि हाल स्वास्थ्य मन्त्रालयबाट आशय पत्र (एलओआई) ल्याएको तथा उपकरण खरिदकालागि पनि अनुमति ल्याईसकेको उनले बताए ।

अस्पताल सञ्चालनकालागि वातावरणीय तथा सामाजिक स्वीकृति, स्वास्थ्य सेवा विभागबाट प्रारम्भीक स्वीकृति पत्र र सबै कागजात पूरा भएपछि अन्तिम स्वीकृति गरेर अस्पताल सञ्चालन अनुमति दिन्छ । दाङमा पहिलो पटक निजि स्तरबाट तीनसय बेडको अस्पताल सञ्चालन हुन लागेको हो । अनुमति पाँचसय बेडको भएपनि हाल तीन सय बेड सञ्चालन गरिने उनले बताए ।

अस्पतालले ९ वटा नियमित दिइने विशेषज्ञ सेवासहित मुटुरोग, मष्तिस्क,छाति, मिर्गौला, पाचन प्रणालीलगायतका सेवा पनि दिइने उनको भनाई छ । अहिले जिल्लाबाट विरामीहरु बाहिर रेफर हुने अबस्था रहेको भन्दै आफूहरुले सेवा सुरु गरेपछि यो रेफर गर्नुपर्ने अबस्थाको अन्त्य हुने सिइओ रोकाले बताए ।


अस्पतालको अध्यक्ष खुमप्रसाद अर्याल हुन् । उनले यस अघि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, गण्डकी मेडिकल कलेज पोखरा र युनिभर्सल मेडिकल कलेज भैरहवामा सञ्चालन गरेका छन् ।
करिब ४ अर्बको लगानीमा उक्त हस्पिटल सञ्चालनमा आउन लागेको हो । करिब ५ विघा जग्गामा सोही अस्पताल छ । २०७८ सालदेखि अस्पालका संरचनाको काम सुरु गरिएको थियो ।

उद्घाटनसंगै स्वास्थ्य शिविर
शिक्षण अस्पतालका संचालक समितिका अध्यक्ष खुमा प्रसाद अर्यालले बिधिवत रुपमा पुजा पाठ गरी शुभारम्भ गरेसंगै स्वास्थ्य शिविर सञ्चालनमा आएको हो ।

जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नशा सेवा, मानसिक रोग सेवा, स्त्री तथा प्रसुति सेवा, वालरोग तथा शिसु सेवा, छाला तथा योन रोग सेवा, फार्मेसी सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड सेवा, प्रयोगसाला सेवाग लगायत विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए।

सो अवसरमा ९५७ जनाले स्वास्थ्य परीक्षण गराएका थिए भने आवश्यक परामर्श र उपचार पनि प्राप्त गरेका थिए। साथै, बिरामीलाई आवश्यक पर्ने औषधि निशुल्क वितरण गरिएको थियो ।