राप्तीमा रिक्त प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाइने

मसुरिया , २० असोज ।
दाङको राप्ती गाउँपालिकामा रिक्त रहेका प्रधानाध्यापक पदमा नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा मंगलबार बसेको गाउँ शिक्षा समितिको बैठकले सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।

बैठकले शिक्षा नियमावली, २०५९ को परिच्छेद–१७ अन्तर्गत नियम ९३ मा भएको प्रधानाध्यापकसम्बन्धी व्यवस्थाबमोजिम रिक्त पदमा नियुक्तिका लागि ३५ दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ।

त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी पूर्णकालीन प्रधानाध्यापक छनोट तथा नियुक्ति गरिने बैठकले निर्णय गरेको हाे।

त्यस्तै, विद्यालयको लेखापरीक्षण गरेबापत लेखापरीक्षकलाई प्रदान गरिने पारिश्रमिक निर्धारण गर्ने निर्णय पनि बैठकले गरेको छ।


बैठकमा स्वीकृत गुरु योजनाका आधारमा स्थानीय तहको साझेदारीमा विद्यालयको भौतिक निर्माण शिर्षकबाट भवन निर्माणको लागि समितिले अनुगमन गरि कार्यपालिकामा सिफारिस गर्ने निर्णयसमेत भएको छ।

बैठकले न्यून विद्यार्थी भएका विद्यालयमा शैक्षिक सत्र २०८४ देखि कक्षा घटाउन आवश्यक प्रक्रिया अघि बढाउन गाउँ कार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह, वडा नम्बर २ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक पहलवान चौधरीलगायत गाउँ शिक्षा समितिका पदाधिकारीको सहभागिता थियो।

बैठकको सहजीकरण शिक्षा शाखा प्रमुख देवी मल्लले गर्नुभएको थियो।