यसरी भए तुलसीपुरका सरकारी कार्यालय खरानी, जलेका कार्यालय जनताको सेवामा उठ्दैछन्

दीपक बोहरा
दाङ, १ असोज ।
देशभरको जेनजी आन्दोलन अन्तर्गत तुलसीपुरमा पनि दोस्रो दिन आन्दोलन जारी रहेकै थियो । २४ भदौको करिब ११ बजेदेखि तुलसीपुरको कालिका मन्दिरदेखि विरोधको कार्यक्रम सुरु भयो ।जहाँ त्यतिबेला ५० जनाको समूह थियो । केही जेनजी, अधिकांस अन्य उमेर समूहका ब्यक्तीकै हावी थियो । त्यहाँबाट सुरु भएको ¥याली जब बजार पस्यो, हजारौंको संख्यामा मान्छे जम्मा भए । त्यो आन्दोलनमा ५०/६० बर्षकै ब्यक्तीहरुको पनि बाक्लै उपस्थिति थियो । सुरुमा उपमहानगरपालिका कार्यालय हुँदै काँग्रेस नेता तथा तत्कालिन सांसद दीपक गिरीको घरसम्म पुग्दा भीड नियन्त्रणमै थियो । गिरीको घरमा पानीको बोतलले हान्ने भन्दा बढि केही भएन । त्यहाँबाट भीड इलाका प्रहरी कार्यालय तर्फ मोडियो । त्यहाँ पनि ढुंगा हान्ने प्रयास गरिएपनि अबस्था सामान्य थियो । त्यहाँबाट भीड पुनः बजार तर्फ लाग्यो । त्यो बीचमा पर्ने इलाका प्रशासन कार्यालयमा ढुंगामुडा गर्दा झ्याल, ढोका तोडफोड भयो । त्यतिकैमा भीड बजारतर्फ लाग्यो । बीरेन्द्र चोक तर्फ भीड गएको थियो । बिरेन्द्र चोक पुग्दा त्यो बीचमा आन्तरिक राजश्व कार्यालय तुलसीपुर र नगर विकास समिति पर्थे । त्यतिबेलासम्म सरकारी कार्यालयलाई तारो बनाएका थिएनन् । ति दुईवटै कार्यालयलाई आन्दोलनकारीले केही चलाएनन् । भीड विरेन्द्र चोकबाट गेहेन्द्र गिरीको घरफर्त फर्कियो । सल्यान रोडमा रहेको गिरीको घरमा ढुंगा,मुडा भयो । त्यसपछि एमाले नेता तथा पूर्वमन्त्री हिराचन्द्र केसीको घरमा ढुंगामुडा भयो । त्यहाँबाट सिधै पूर्व सासद तथा एमाले नेतृ कोमल वलीको घरमा तोडभोड ग¥यो । ति नेताको घरमा तोडफोड गरेपछि भीड थप आक्रोसित बन्यो । अनि पार्टी कार्यालय खोज्न थाल्यो ।

त्यसपछि आन्दोलनकारीहरुले मदनआश्रित चोकदेखि पूर्व तर्फ रहेको एमाले पार्टी कार्यालय तोडफोड मात्रै गरेनन् । आगजनी समेत गरे । एमाले पार्टी कार्यालयमा आगजनी गरेपछि कार्यालयहरुमा आगो लगाउने काम त्यहीबाट सुरु भयो । पार्टी कार्यालयमा पुग्दा भीड थप आक्रोसित बन्यो र घोराही रोडदेखि दक्षिणतर्फ रहेको काँग्रेस पार्टी कार्यलयमा पनि तोडफोड तथा आगजनी मात्रै गरेन, नेताहरुको फोटोलाई लात्तिले हान्ने, थुक्ने जस्ता कार्य भए । काँग्रेस पार्टी कार्यालयमा आगजनी तथा तोडफोड भएपछि भाडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी तथा तोडफोड भयो । माओवादी पार्टी कार्यालय रहेको घरमा भाडामा बस्ने तथा होटेल समेतका सामग्रीमा तोडफोड भयो ।

माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गर्दा भीड निकै आक्रोसित थियो । त्यसपछि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा सबै भिड त्यही केन्द्रित भयो । त्यहाँ सुरक्षाकर्मीहरु पनि तैनाथ थिए । जनपथ, शसस्त्र र नगर प्रहरी तैनाथ हुँदा एक छिन मुटभेडको अबस्था पनि बन्यो । अन्ततः आन्दोलनकारीहरुले उपमहानगरपालिकाको गेट फोडे र भित्र पसे । भित्र गएर त्यहाँका सबै सामग्री बाहिर फाल्नुकासाथै ढुंगामुडाले तोडफोड गरे । त्यसपछि भित्र गएकाहरुले कार्यालयमै आगो लगाए ।

तुलसीपुर उपमहानगरपालिकामा आगो लगाइसकेपछि त्यो भिड झनै आक्रोसित भयो र ब्यक्तिका घरदेखि ब्यबसाय तथा अन्य कार्यालयहरु समेतमा तारो बने । जबकी एमाले पार्टी कार्यालय तिर जाँदा उच्च अदालत, उच्च सरकारी वकिल कार्यालय,लोकसेवा आयोगको कार्यालय, मालपोत कार्यालय त्यही बाटो पर्थे । त्यही बाटो जाँदा ति कार्यालयहरुमा कुनै चासो नदिएको आन्दोलनकारीको टोलीले तुलसीपुर उपमहानगरपालिकामा आगजनी गरेपछि त्यहाँ पुगेर पनि आगजनी गरे । उपमहानगरपालिका आगजनी गरेपछि कोही मालपोत जलाउन गए, कोही उच्च अदालत, त कोही सरकारी वकिल जलाउन तिर लागे । भिडको ‘मुँड’ अनुसार आन्दोलनकारी बाँडिएर आगजनी गर्न तर्फ लागे । विहान ढुंगामुडा गरेको गेहेन्द्र गिरीको घर जलाउन नै कोही त्यहाँ पुगे । विहानै ढुगा मुडा गरेको इलाका प्रशासन कार्यालयमा गएर पुनः आगजनी नै गरे । काँग्रेस नेता गेहेन्द्र गिरीकोमा गएर केहीले त्यहाँ आगजनी गरे । केही तप्का डिल्ली चौधरीको घरमा गएर आगजनी तथा लुटपाट तिर लाग्यो, भने केही तप्का कोमल वलीको कोमल रिसोर्ट, कोही एमाले महासचिब शंकर पोख्रेलको घर जलाउन तिर लागे । यसरी आन्दोलनकारीहरु नै बाँडिएर आगजनी तथा तोडफोडमा उत्रिए । यही क्रममा डिभिजन सिंचाई कार्यालय तुलसीपुर, भु तथा जलाधार कार्यालय तुलसीपुर, नेपाल आयल निगमसहित तुलसीपुर उपमहानगरपालिका वडा नं.८, वडा नं.९, वडा नं.१८ र वडा नं.१८ को समेत कार्यालय जलाईयो । यसरी करिब तीन घण्टा आन्दोलन अराजक शैलीमा अगाडी बढ्यो । त्यही क्रममा प्रधानमन्त्री केपी शर्मा वलीले राजीनामा दिएर सेनाले सुरक्षाको जिम्मा लिए लगतै तुलसीपुरको भीड तितर वितर भएको थियो । जिल्लामा कफ्र्य पनि जारी भएपछि सेना सक्रिय भयो र अबस्था विस्तारै सामान्य हुँदै गएको थियो ।

ढलेका कार्यालय, जनताको सेवामा उठ्दै
तुलसीपुर स्थित जलेर नष्ट भएका कार्यालयहरुले जनताको सेवाकालागि भने तत्परता देखाएका छन् । आईतबारसम्म सबै सरकारी कार्यालयले सेवाकालागि सरसफाई गरिसकेका छन् । क्षतिको मुचुल्का उठाएर, सेवा दिनकालागि सुरु गर्ने तयारी गरिरहेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले टेन्टबाट सेवा दिने तयारी
जेनजीको आन्दोलनमा जलेर नष्ट भएको तुलसीपुर उपमहानगरपालिकाले कार्यालयकै प्राङगणबाट सेवा दिने तयारी गरेको छ । उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार प्राङगणमै पाल टाँगेर सेवा दिने गरि तयारी गरेको बताए । उपमहानगरपालिकाको कार्यालय पनि जलेर ध्वस्त छ । पालिकाका दुई वटै भवन जलेर नष्ट छन्, भने २० वटा भन्दा बढि सवारी जलेर नष्ट छन् । फिल्डमा गएका बाहेक सबै सवारी जलेर नष्ट भएको उनले बताए । नयाँ ट्रेड टावरको भवनका सिसा पनि पुरै फुटेका छन् । यसरी हेर्दा ६० करोड भन्दा बढिको क्षति भएको प्रमुख खड्काले बताए ।

टेन्टकालागि जिल्लाको विपद ब्यबस्थापन र १९ नम्बर बाहिनीसंग मागेको उनले बताए । त्यसरी टेन्ट प्राप्त भएमा अतिआबश्यक सेवाहरु तत्काल सुरु गर्ने तयारी रहेको नगर प्रमुख खड्काले बताए । क्यान्सर, मिर्गौलालगायतका विरामीलाई उपचारकालागि सिफारिश गर्नेलगायत तत्काल नगरी नहुँने कामलाई सुरुवात गर्ने उनको भनाई छ । भवनको प्राबिधिकहरुबाट परीक्षण गर्ने कार्य भइरहेकाले पनि अहिले नै बस्न मिल्ने वा नमिल्ने भन्ने कुरा निक्र्यौल नभएकाले अहिले बाहिरबाटै सेवा सुरु गर्ने उनले बताए । यदि प्राबिधिक मूल्यांकनले बस्न मिल्ने भन्ने भएमा भवन मर्मत गर्न तर्फ लाग्ने उनको भनाई छ ।

पालिकाले निर्माण गरेको ट्रेड टावरको सीसा क्षति भएपनि त्यसलाई सामान्य मर्मत गर्न सकेमा मात्रै पनि काम गर्न सकिन्छ । त्यहाँ पनि अस्थायी रुपमा कार्यालयको सेवा दिन सकिने प्रमुख खड्काको भनाई छ । त्यसकालागि ठेकेदारले अझै पनि पालिकालाई भवन हस्तान्तरण नगरेको उनले बताए । सम्झौता भन्दा पाँच महिना पहिले नै त्यो भवन निर्माण पूरा भएकाले सोही अनुसार ‘बोनस’ पुरस्कार ठेकेदारले दावी गरेको भन्दै त्यो दिनासाथ भवन हस्तान्तरण हुने प्रमुख खड्काको भनाई छ ।

यातायात तुलसीपुरमा गाडी र अटोका ढड्ठा मात्रै बचे
यातायात ब्यबस्था कार्यालय तुलसीपुरमा जेनजीको आन्दोलनका क्रममा आगजनीबाट अधिकांस सामग्री जलेका छन । कार्यालयका शुब्बा उत्तम डाँगीका अनुसार कार्यालयमा अटो रिक्सा र केही गाडीका ढड्डा र परीक्षाका सामग्री बाहेक अन्य सबै सामग्री जलेर नष्ट भएको छन् । लाइसेन्सको फाइल जलेर नष्ट भएपनि अनलाईन प्रणालीमा भएकाले त्यति असहज नहुँने भएपनि सवारीको ब्लुबुकका ढड्डा हराउँदा पनि समस्या हुने उहाँको भनाई छ । त्यसकालागि सम्बन्धि सवारी धनीले नै ब्लुबुक ल्याएर कार्यालयमा पुनः इन्ट्रि गराउनु पर्ने बताउनुभयो । यातायातले पनि कार्यालयबाट सेवा सुरु गर्नकालागि सरसफाई गरिसकेको छ । अब विद्युत,कम्प्युटरलगायतका सामग्री जडान हुने वितिकै सेवा सुरु गर्ने जनाएको छ ।

मुद्दा फाँटका सबै जले, बन्दी प्रत्यक्षीकरण काम सुरु हुँदै
दाङको तुलसीपुर स्थित उच्च अदालत पनि जलेर नष्ट छ । ५ वटा गाडी र ३६ थान कम्प्युटर जलेका तथा हराएका छन् ।“केही जलेका छन्, भने केही हराएका छन्”,सूचना अधिकारी कृष्ण शर्माले भने“तोडफोड र आगजनी पछि पनि बचेका सामग्रीहरु चोरी गरेर पनि लगिएको छ ।” अदालतको सबै भन्दा महत्वपूर्ण शाखा मुद्दा शाखा रहेको भन्दै त्यो पनि जलेर नष्ट भएको बताए । मुद्दा शाखामा रहेका सबै चालु मिसिलहरु जलेर नष्ट भएको उनको भनाई छ ।


हाल बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता तथा त्यसको सुनुवाई गर्ने काम सुरु गर्ने तयारी रहेको छ । बाँकी यहाँको भौतिक संरचना सुधार र सर्वोच्च अदालतको आदेश बमोजिम काम गर्ने उहाँको भनाई छ ।

इलाका प्रशासन कार्यालय तुलसीपुर पूर्ण रुपले क्षति
दाङको तुलसीपुर स्थित इलाका प्रशासन कार्यालय आगजनीबाट पूर्ण रुपमा क्षति भएको छ। जेनजीको आन्दोलनका क्रममा गरिएको आगजनीबाट पूर्ण रुपमा क्षति भएको कार्यालय प्रमुख महेश गुरुङले बताउनुभयो । उहाँका अनुसार तीन तलाको भवन नै लगेको र भित्र रहेका प्रशासनीक फाईल, नागरिकता अनुसूचिहरु, नागरिकता रजिष्टर, नागरिकता अभिलेख, तयारी पासपोर्ट र लेखा सम्बन्धि सबै कागजात जलेर नष्ट भएका हुन् । त्यस्तै कार्यालयका दुई वटा स्टोर कोठामा रहेका सबै सामग्रीहरु जलेर नष्ट भएको उहाँको भनाई छ । एउटा मोटरसाईकल, १६ वटा कम्प्युटर, ६ वटा ल्याप्टप, पाँच वटा सिपियु, क्यामेरा ४ वटा,लगायत कार्यालय भित्रका सबै सामग्री जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

यसमा सबै भन्दा बढि प्रभावित नागरिकता शाखा परेको उहाँले बताउनुभयो । यदि नागरिकता हराएर प्रतिलिपि लिनु पर्ने भएमा कार्यालयसंग पनि त्यसको कुनै प्रमाण नहुँने र सम्बन्धित ब्यक्तीसंग पनि केही नभएमा नागरिकताको दुरुपयोग बढ्न सक्ने उहाँको भनाई छ । त्यस्तै कार्यालय परिसर भित्र रहेको हुलाक काउन्टर र सामी परियोजनाको काउन्टर समेत जलेर पूर्ण रुपमा नष्ट भएको प्रमुख गुरुङले बताउनुभयो ।

मालपोत तुलसीपुरमा फाईल राख्ने स्ट्यान र फलामका टुक्रा मात्रै बचे
दाङको तुलसीपुर स्थित मालपोत कार्यालयमा आगजनीबाट कुनै पनि सामाग्री बचेका छैनन् । सूचना अधिकारी शान्तराज गौतमका अनुसार जलेका टुक्राटाक्री बाहेक केही बचेका छैनन । आगलागीबाट फाईल राख्ने १४ वटा स्टायान बचेका छन् ।“जलेका फलामहरु बचेका छन्,१४ वटा स्ट्यान बचेका छन्”,उहाँले भन्नुभयो“त्यो बाहेक अरु केही पनि बचेको छैन ।” त्यो बाहेक भाडाको घर, मोठ श्रेष्ता, तामेली जलेर नष्ट भएका छन् । त्यस्तै २७ थान कम्प्युटर, ६ थान ल्याप्टप, एउटा स्कुटर, एउटा मोटरसाइकल, ४ थान साइकल जलेर नष्ट भएको सूचना अधिकारी गौतमले बताउनुभयो । त्यो बाहेक दुई थान मोवाईल, टेलिभिजन, राउटर, टेबललगायत कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उहाँको भनाई छ । यसरी कार्यालयका सामग्री नष्ट भएपनि सेवा प्रवाह लयमा आउनकालागि कार्याल्य सुरु भएको कम्तिमा ६ महिना लाग्न सक्ने सूचना अधिकारी गौतमको भनाई छ । भाडाको घर भएकाले त्यो घरमा प्राबिधिकले परीक्षण नगर्दासम्म बस्न मिल्ने वा नमिल्ने भन्ने टुंगो लाग्ने उहाँको भनाई छ । काम सुरु भएपछि पनि श्रेष्ता कायम राख्न समस्या हुने गौतमले बताउनुभयो ।“अनलाइनमा त इन्ट्रि होला, तर त्यो इन्ट्रिले मात्रै पुग्दैन”,उहाँले भन्नुभयो“श्रेष्ता कायम गर्न ६ समय लाग्छ ।”मालपोतमै आगलागी भएपछि यसले बर्षौं, बर्षसम्म असर गर्ने उहाँको भनाई छ ।

कर कार्यालय तुलसीपुरमा एउटा गाडी र स्टिकर मात्रै बचे
जेनजीको आन्दोलनका क्रममा आगजनी गरिएको दाङको तुलसीपुर स्थित आन्तरिक राजश्व कार्यालयको एउटा गाडी र केही स्टिकर मात्रै बचेका छन् । कार्यालय प्रमुख श्रीधर टन्टनका अनुसार आन्दोलनको टोली कर कार्यालय तर्फ मोडिएपछि एउटा गाडीलाई कार्यालय भन्दा बाहिर राखेर बचाउन सफल भईएको हो । त्यो बाहेक कार्यालय भित्रका सबै सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो ।“गाडी मात्रै बाहिर राखेर बचाउन सफल भयौं”उहाँले भन्नुभयो“भित्र त केही सचेतनामुलक स्टिकर मात्रै बचेका थिए, अरु सबै जलेर नष्ट भए ।”

उहाँका अनुसार कार्यालय, क्वाटर तथा ग्यारेजसहित ५ वटा भवन जलेका छन् । ति भवन पुनः प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने कुरा प्राबिधिकले परीक्षण गरेपछि मात्रै थाहा हुने समेत उहाँले बताउनुभयो । त्यस्तै कार्यालयका कम्प्युटर जलेर नष्ट भएका छन् । कार्यालयमा रहेका साविक राप्ती अञ्चलका जिल्लाहरुका सबै फाईल, अडिट, मुद्दा, अनुसन्धानका फाईल, तीन वटा गाडी, ३ वटा सरकारी मोटरसाईकल, कार्यालय प्रमुख र एक जना शुब्बामो निजि मोटरसाईकल जलेर नष्ट भएको प्रमुख टन्डनले बताउनुभयो । उहाँका अनुसार अनलाईनमा काम हुने भएकाले डाटा सुरक्षित भएमा भने सहज हुनेछ । करछली गरेर ब्यबसाय गरिरहेकाहरुबाट जफत गरि ल्याएका सामग्रीहरु समेत जलेर नष्ट भएका छन् । त्यहाँ क्वाटरमा तीन परिवारसहितका कर्मचारी बस्ने गर्थे ।

नगर विकास समितिः सुनदेखि नुनसम्म चोरी
दाङको तुलसीपुर स्थित नगर विकास समिति पनि जलेर पूर्ण रुपमा क्षति भएको छ । नगर विकास समितिका प्रमुख लिला शिवाकोटीका अनुसार दुई वटा कुसी बाहेक केही पनि नबचेको बताए । कार्यालय र क्वाटरका सबै सामग्री जलेको उनको भनाई छ ।“मेरो जागिर जीवन ३८ बर्ष यही नगर विकासमा वित्यो”,उनले भने“यो बीचमा मैले कमाएको सबै सम्पति यही क्वाटरमा राखेको थिएँ, सबै जलेर नष्ट भयो ।” लसुन प्याजदेखि तरकारी काट्ने चक्कु समेत हराएको तथा केही सामान जलेको उनले बताए । कार्यालयका डकुमेन्ट पनि केही सुरक्षित नभएको उनको भनाई छ ।

भू–जलाधार पनि तोडफोड र आगजनी
दाङको तुलसीपुर स्थित भू संरक्षण तथा जलाधार कार्यालय पनि जलेर नष्ट भएको छ । कार्यालयका कागजात, कुर्सी टेबल, कम्प्युटर सबै जलेर नष्ट भएको सूचना अधिकारी राजेश शाहीले बताए । अहिले भवन सरसफाई गर्ने कार्य भएको र केही समयमा सेवा दिने तयारी रहेको उनले बताए ।

अन्य कार्यालयको अबस्था कस्तो ?
दाङको तुलसीपुर स्थित नेपाल आयल निगमको कार्यालयमा पनि क्षति भएको छ । आन्दोलनकारीले त्यहाँ पनि तोडफोड तथा आगजनी गरेका छन् । त्यस्तै लोकसेवा आयोगको कार्यालय पनि जलेर पूर्ण रुपमा क्षति भएको छ । डिभिजन सिंचाई कार्यालय भने बाहिर जलेपनि भित्र जोगिन सफल भएको छ । साभारः अग्रिम साप्ताहिक