
दाङ, १९ असोज ।
दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एक जनागरी दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मृत्यु हुनेमा प्युठानको सरुमारानी गाउँपालिका-५ हातिखाल निवासी ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगर रहेका छन्। प्रहरीका अनुसार प्युठानबाट लमही बजार आएर प्युठान फर्किने क्रममा लमही नगरपालिका-३ मजगाउँ चोकमा दुर्घटना भएको हो। लमही बाट भालुवाङ तर्फ जाँदै गरेको लु.प्र.०२-००१ ह १५७१ नम्बरको अटो र भालुवाङबाट लमही तर्फ आउँदै गरेको यात्रु बस एक आपसमा ठोक्किएका थिए।
प्रहरीका अनुसार पूर्व तर्फ जाँदै गरेको ट्रकलाई उछुनेर अटो अगाडी जान खोज्दा पूर्व बाट तिब्रगतिमा लमही तर्फ आउँदै गरेको यात्रु बसमा ठोक्किन पुगेको हो।
दुर्घटनामा अटो चालक सरुमारानी गाउँपालिका-५ पाखापानीका जीतबहादुर पल्ली मगर, सोही ठाउँकी सङ्गिता सोमै मगर र नौबहिनी गाउँपालिका-८ लुप्लुङका २८ वर्षीय गोपाल अधिकारी घाइते भएका छन्।
घाइते तीनै जनाको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाइएको छ।



लाइभदाङ । १९ आश्विन २०८३, सोमबार १८:१७ बजे