
भालुबाङ, २० असोज ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका परिवारलाई क्रियटिङ पोसिबिलिटिज नेपाल (सिपी नेपाल)ले राहत तथा शैक्षिक सहयोग गरेको छ ।
राप्ती गाउँपालिकाको समन्वयमा बाढीका कारण आफन्त गुमाएका तथा परिवारका सदस्य बेपत्ता भएपछि कठिन परिस्थितिमा रहेका परिवारलाई संस्थाले दैनिक उपभोग्य सामग्रीसहित आर्थिक सहयोग गरेको हो ।
सिपी नेपालले राप्ती गाउँपालिका–३ बसन्तपुरका सर्वेश चौधरी, वडा नम्बर ४ मौरीघाटका सिजन चौधरी र रामबहादुर चौधरी तथा वडा नम्बर ६ का अनिल चौधरीका परिवारलाई सहयोग गरेको छ ।
हिमालयन चिल्ड्रेन च्यारिटिज (एचसीसी)को सहयोगमा चामल, दाल, नुन, तेल, चिनी, कापी–कलम, लत्ताकपडा, ब्ल्याङ्केट, साइकललगायतका सामग्रीसँगै प्रत्येक परिवारलाई नगद १० हजार रुपैयाँ सहयोग गरिएको संस्थाले जनाएको छ।
सिपी नेपालका निर्देशक दिनेशराज सापकोटा, महिला सशक्तीकरण संयोजक सरिता चौधरी र कार्यक्रम अधिकृत हेमराज शर्माले पीडित परिवारको घरमै पुगेर सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रम अधिकृत शर्माका अनुसार मजदुरीका लागि भोटेकोशी क्षेत्रमा पुगेका बेला बाढीमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई लक्षित गरी सिपी नेपालले विभिन्न स्थानमा राहत सहयोग गर्दै आएको छ ।
उहाँका अनुसार राप्ती गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका गरी हालसम्म १० परिवारलाई सहयोग गरिएको छ ।



लाइभदाङ । २० आश्विन २०८३, मंगलवार १४:२७ बजे