कारागारबाट भागेका १६ कैदी पक्राउ

प्रिया स्मृति गजमेर
लमही, २८ भदौ ।
जेनजी आन्दोलनको मौका छोपेर विभिन्न कारागारबाट फरार भएका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ।

बाल सुधार गृह नौवस्ता, बाँकेबाट ८ जना, तुलसीपुर कारागारबाट ५ जना, केन्द्रीय कारागार सुन्धाराबाट २ जना र रुकुम पश्चिम कारागारबाट १ जना गरी कुल १६ जना कैदी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए।


पक्राउ परेकामध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ भने बाँकी ८ जनालाई बाल सुधार गृह नौवस्ता, बाँके पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। आन्दोलनको अवसरमा फरार भएका कैदीलाई प्रहरीले क्रमशः पक्राउ गरी पुनः कारागारमै पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।