
सल्यान, ०२ असोज ।
सल्यानको शारदा नगरपालिकाको एम्बुलेन्स अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ । बिरामी लिएर नेपालगन्ज गएको एम्बुलेन्स फर्कने क्रममा बाँकेको जानकी गाउँपालिका-६ स्थित सूर्यशक्ति ग्यास उद्योगमा ग्यास भर्ने क्रममा अक्सिजन सिलिन्डर पड्किएपछि आगलागी भएको हो ।
कर्णाली प्रदेश ०२००१ झ ०२४५ नम्बरको एम्बुलेन्समा बिहीबार बिरामीलाई नेपालगन्ज पुर्याएर फर्कने क्रममा अक्सिजन भर्न खोजिएको थियो । अर्को बिरामी ल्याउने भनेर सिलिन्डर भर्न गएको र सोही क्रममा सिलिन्डर पड्किएर एम्बुलेन्समा आगो लागेको शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट एम्बुलेन्स पूर्ण रूपमा जलेको छ । आगलागीमा परी एम्बुलेन्स चालक लोकेन्द्र बस्नेत घाइते भएका छन् । उनको सामान्य उपचारपछि डिस्चार्ज गरिएको नगरप्रमुख भण्डारीले जानकारी दिए ।
‘नगरपालिकामा एउटा मात्रै एम्बुलेन्स थियो । त्यही पनि जलेर काम नलाग्ने अवस्थामा पुगेपछि आकस्मिक बिरामी तथा गर्भवती महिलालाई सेवा दिन समस्या हुने अवस्था आएको छ,’ नगरप्रमुख भण्डारीले भने ।
शारदा नगरपालिकाले उक्त एम्बुलेन्समार्फत नगर क्षेत्रका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र विपन्न नागरिकलाई सेवा दिँदै आएको थियो । एम्बुलेन्स नहुँदा उपचारका लागि अन्यत्र लैजानुपर्ने बिरामीलाई थप समस्या हुने नगरपालिकाले जनाएको छ ।



लाइभदाङ । २ आश्विन २०८३, शुक्रबार १७:४४ बजे