शव जलाएर काजकिरिया गरिसकेका ब्यक्ति घरमा आएपछि….

दीपक बोहरा
दाङ, २३ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.६ गोलौराका ४६ बर्षीय शंकर भण्डारी रोजगारको सिलसिलामा गएको २४ जेठमा भारत गए । तर, उनी भारत गएपछि सम्पर्क विहीन बने ।

घरबाट नेपालगञ्ज जाँदासम्म सम्पर्कमै रहेपनि भारत गइसकेपछि दुई महिनासम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरे । खोजी गर्दा उनी जस्तै अनुहारका ब्यक्ती दुर्घटनामा परि मृत्यु भएको भनि जानकारी आयो । त्यसपछि उनलाई ल्याउन शंकरका दाईका छोरा कृष्ण भण्डारी भारत गए । भारत गएपछि उनकै जस्तो अनुहारको ब्यक्तीको अस्पतालमा मृत्यु भएको थियो । तिनै ब्यक्ती नै शंकर भएको भन्दै घरमा ल्याईयो ।

२७ साउनमा शवलाई तुलसीपुर ल्याईएको हो । शवलाई तुलसीपुर ल्याएर यही अन्त्येष्टी गरेर काजकिरिया गरिएको थियो ।
तर, काजकिरिया सकिएको केही महिनामै सम्बन्धित ब्यक्ती नै सम्पर्कमा आए । सोमबार मात्रै शंकरले आफू अमिलिया पुगेको भनि श्रीमतिलाई फोन गरे ।

घर आएका संकर र आफन्ती

मृत्यु भइसकेको भनिएको र काजकिरिया नै गरिसकेको ब्यक्ती जिउदै भएको भनि स्वयंले फोन गर्दा घर परिवार अच्चमित भए ।“आफू घर आउदै गरेको, अमिलिया आएको भनेपछि हामी अचम्मित प¥यौं”,श्रीमति देविका भण्डारीले भनिन् “मरिसकेको र किरिया गरेको ब्यक्ती त अर्कै पो हुनुहुँदो रहेछ ।”


मृत्यु भएका भनिएका शंकर

शंकर अहिले तुलसीपुर ६ रजौरा स्थित आफन्तीको घरमा बसेका छन् । एक पटक काजकिरिया गरिसकेको ब्यक्तीको पुनः न्वारान र पुनः विहे गरेपछि मात्रै घर जानुपर्ने धार्मिक मान्यता रहेको छ । सोही अनुसार पुनः विहे गरेर मात्रै घर जाने भनेर आफन्तीको घरमा बसेको शंकरले बताए ।“अब फेरि सिधै घर जान मिल्दैन रे”,उनले भने “फेरी न्वारान गरेर, विहे गरेपछि मात्रै घर जान मिल्ने भएकाले, त्यो विधि पु¥याएर मात्रै घर जान्छु ।”

उनी घर आउँदा आफ्नो काजकिरिया गरेको भन्ने पनि थाहा थिएन । अमिलिया आएर श्रीमतिलाई फोन गरेपछि मात्रै थाहा भएको उनले बताए । उनले भारतको गोवामा डुंगामा काम गर्दै आएका थिए ।

आफूसंग पैसा नभएकाले सीम किन्न सक्ने अबस्था थिएन । त्यसले गर्दा पनि घर परिवारसंग सम्पर्कमा आउन नसकेको उनको भनाई छ ।“म संग पैसा थिएन, त्यसैले सीम किन्न पाएको थिएन”,उनले भने “पैसा आएपछि सीम किन्नु पर्ला भनेको थिएँ, छिटै घर आउनु पर्ने भयो, अनि एकै पटक अमिलिया आएर फोन गरेँ ।” उनका एक छोरा र छोरी छन् । भण्डारी तीन बर्ष अघि शसस्त्र प्रहरीबाट रिटायर्ड भएका थिए ।