सल्यानमा शिकार खेल्दा गोली लागेर एकको मृत्यु, छ जना पक्राउ

तुलसीपुर, २३ साउन ।
सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ। कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्न गएका कालिमाटी–२ बराहडुंगा निवासी ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी दिपक पातलीका अनुसार शुक्रबार राति शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट फायर भएको गोली लागेर पुनको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू शुक्रबार साँझ करिब ८ बजे शिकार खेल्न जंगलतर्फ गएका थिए। घटनाबारे प्रहरीलाई राति करिब १० बजे जानकारी प्राप्त भएको थियो। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।


घटनापछि प्रहरीले शिकार खेल्न गएका छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्धबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीसमगर रहेका छन्।

पक्राउ परेकाहरूमाथि घटनाको प्रकृति र गोली चल्नुको कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी पातलीले जानकारी दिए।