
तुलसीपुर, २२ भदौ ।
भुमे ७ पूर्वी रुकुमकी भावना बुढाको घरमा बिजुली बल्न थालेको धेरै भयो तर सानोतिनो समस्या आउँदा पनि समयमै प्राविधिक नहुँदा लामो समयसम्म कुर्नुपर्ने अवस्था सृजना भएको थियो । “कहिलेकाही त सामान्य विग्रदा पनि महिनौ कुर्नुपर्थ्यो” उनले भनिन् । यस्तै समस्याका विचमा इलेक्ट्रिसियनको तालिम लिइरहेकी भावना अहिले निकै खुसी छन् । “अब आफ्नो घरको मात्रै होइन अरुको घरको पनि बत्ति वाल्न सक्ने आत्मविश्वास पलाएको छ ” उनले भनिन् ।
थवाङ गाउँपालिका १ का विशाल विक पनि तालिममा सहभागी हुन पाउँदा निकै खुसी छन् । स्थानीय बिर वलभद्र माविमा कक्षा १२ मा अध्ययनरत उनले सीप सिकेर आत्मनिर्भर हुन सकिने भएको हुँदा तालिममा सहभागी भएको बताए । “गाउँघरमा सानो सानो कामका लागि पनि अरुलाई खोज्नुपर्दछ अव आफैले सिकेपछि सजिलो हुने भयो ” उनले भने ।
दूर्गममा रहेका बालबालिकाहरुलाई लक्षित गरेर टंकप्रसाद आचार्य फाउन्डेशनको सहयोग र ग्रीन फाउन्डेसन नेपालको आयोजनामा भएको १५ दिने आधारभुत बिल्डिङ इलेक्ट्रिसियन तालिममा थवाङ आपपासका ३० जना युवाहरुको सहभागिता रहेको ग्रीन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बताए । उनले विकट ठाउँका युवाहरुलाई स्वरोजगारसँग जोड्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए ।
तालिमको प्राविधिक समन्वय तुलसीपुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ । शिक्षालयमा इलेक्ट्रिकल अध्ययन गरेका विद्यार्थीहरुले प्रशिक्षण दिएका छन् । विद्यार्थीहरुले सिकेको सिपलाई दुरदराजमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको शिक्षालय प्रमुख वसन्त आचार्यले बताए ।



लाइभदाङ । २२ भाद्र २०८२, आईतवार १३:२२ बजे