फुलखेती विस्तारित गर्न विद्यार्थीले किने पावर टिलर

तुलसीपुर, ३१ असार ।
तुलसीपुर बहुप्राविधिक शिक्षालय कृषि तथा वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरुले फुलखेतीलाई विस्तारित गर्नका लागि पावर टिलर खरिद गरेका छन् । गतवर्ष गरेको फुलखेतीबाट बचेको पैसाले उनीहरुले पार टिलर किनेका हुन् । कृषिलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनका लागि विद्यार्थीले नै बनाएको कोषबाट किनिएको विद्यार्थी सन्दिप मल्लले बताए ।

‘यो वर्ष अलि धेरै विस्तार गरेर फुलखेती गर्ने सोचमा रहेका छौ’ उनले भने । गतवर्षभन्दा यो वर्ष धेरै मात्रामा फुलखेती गरिने विद्यार्थी स्पन्दन भुषालले बताइन् । उनले यो वर्ष फुलमात्रै नभएर विरुवा पनि विक्री गरिने बताइन् । ‘हामी अहिले विरुवा उत्पादनमा लागेका छौ’ भुषालले भनिन् । उनले यो वर्ष फुलखेतिलाई सजावट पूर्ण ढँगले गर्ने पनि बताइन् ।


शिक्षालयको सहयोगमा पछिल्लो समय विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरुले पढ्दै कमाउँदै गरिरहेको शिक्षालय प्रमुख वसन्त आचार्यले बताए । शिक्षालय प्रमुख आचार्यले विद्यार्थीहरुले फुलखेतीबाट आर्जन गरेको पैसाले विद्यार्थीहरुले नै कोष बनाउने समेत जानकारी दिए । गतवर्ष विद्यार्थीहरुले फुलखेती गरेर ४ लाख आर्जन गरेका थिए ।