
काठमाडौँ, १८ भदौ ।
देशभर पछिल्लो एक हप्तामा २६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै हालसम्म डेंगु संक्रमितको संख्या ३ हजार ८११ पुगेको छ भने दुई जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेंगु सङ्क्रमण पुष्टि भएको छ । दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।
गण्डकी प्रदेशमा एक हजार ३८ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ७९६, कोशीमा ६३५, लुम्बिनीमा ६७०, सुदूरपश्चिममा ४४७, कर्णालीमा १४८ र मधेशमा ७७ जनामा डेंगु पुष्टि भएको छ ।
चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन्।
त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण देखिन्छ ।



लाइभदाङ । १८ भाद्र २०८२, बुधबार १९:४७ बजे