
पछिल्लो समय तुलसीपुरको होटेल व्यवसायीले राती होटेल खोल्दा प्रहरीबाट धरपकड सहनु परेको छ । त्यति मात्रै होईन्, होटेल खोलेकै नाममा हतकडी लगाएर प्रहरीले लैजाने गरेको छ । यसले होटेल व्यवसायी प्रति निराशा थपेको छ । होटेल ब्यबसाय प्रायः राती नै चल्छन् । बास बस्न आउने मान्छेहरु, बाहिरबाट राती पुगेका मान्छेहरुका कारणले नै होटेल चल्ने हुन् । राति तुलसीपुर पुगेका ग्रहाकलाई सेवा दिएमा यहाँको सन्देश पनि राम्रो जाने हो । तर, राति ९ बजे पछि होटेल बन्द गर्नुपर्ने भन्दै प्रहरीले सीटी फुक्दै हिड्छ – त्यो पनि सुरक्षाको कारण देखाउँदै । तर, राति ९ बजेपछि होटेल बन्द हुँदा जिल्ला बाहिरबाट आएकाहरु होटेलमा जान नपाउने अबस्था छ । त्यतिमात्रै होईन्, रोजेको होटलमा पनि बस्न पाइरहेका छैनन् । राति नै बन्द हुने अबस्था आएमा होटेल व्यवसाय नै धरापमा पर्ने अबस्था रहेको छ ।
कोरोना पछि होटेल व्यवसाय झनै धरासायी बन्दै गइरहेका छन् । ग्रहाकको संख्या घटिरहेको छ । अर्कोतर्फ ठूला सहरमा रातिमा होटेल सञ्चालन नहुँनु भनेको हरेक हिसाबले कमजोर हुनु पनि हो । त्यसरी राति होटेल खोल्न नसक्ने अबस्था आएमा त्यसले सुरक्षाको अबस्था पनि कमजोर भएको भन्ने बुझाउछ, भने यस क्षेत्रमा आउने खोज्ने पाहुनाहरु पनि हिच्किचाउछन् । होटेल व्यवसाय नै समृद्धिको एउटा मुख्य आधार हो । जहाँ होटेलको विकास हुन्छ, त्यहाँको पर्यटनको विकास हुन्छ । त्यस्ता ठाउँमा आवतजावत र चहलपहल बढिरहेको हुन्छ । यसरी चहलपहल हुँदा नै यस क्षेत्रको व्यवसाय फस्टाउने हो । यहाँको व्यवसाय फस्टाए मात्रै यहाँको विकास हुनेहो ।
जिल्ला सुरक्षा समितिले राति ११ बजेसम्म होटेल खोल्ने गरि निर्णय गरेको छ । तर, तुलसीपुरमा केही स्वार्थ समूहले ९ बजेभित्रै होटेल बन्द गर्ने गरि निर्णयलाई अघि सारे । त्यही समूहको प्रभाबमा पनि प्रहरी घुमिरहदा नै यस्तो समस्या देखिएको हो । सबैमा समान व्यवहार नहुँने र स्वार्थ समूहमा शक्ति केन्द्र दौडिदा त्यसको मार आम व्यवसायीहरुले पाइरहेका छन् । जिल्ला सुरक्षा समितिले जुन निर्णय गरेको छ, त्यसमै टेकेर प्रहरी प्रशासनले आफ्नो कदम लाग्नु पर्छ । त्यही अनुसार सुरक्षाको प्रबन्ध मिलाउनु पर्छ, भने होटेल व्यवसायीहरु पनि यस विषयमा सम्बेदनशील हुनुपर्छ । होटेल व्यवसाय मर्यादित नभएमा त्यसले सकारात्मक सन्देश दिन सक्दैन । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १७ भाद्र २०८२, मंगलवार ०८:५२ बजे