
आजाद खड्का
नेपाली समाज र राजनीतिमा अहिले एउटा गम्भीर वैचारिक बहसको आवश्यकता छ। हामी अक्सर ‘राजतन्त्र’ वा ‘गणतन्त्र’ को सतहमा अल्झिरहेका हुन्छौँ, तर ती शासन प्रणालीलाई टिकाइराख्ने वा भत्काइदिने ’आर्थिक आधार’ (Base) लाई नजरअन्दाज गरिरहेका हुन्छौँ। यथार्थमा, राजतन्त्र केवल एउटा राजनीतिक व्यवस्था मात्र थिएन, त्यो सामन्ती उत्पादन सम्बन्धको एउटा उपरिसंरचना (Superstructure) थियो। आज राजतन्त्र ढलेको छ, तर त्यही सामन्ती उत्पादन सम्बन्धको अवशेष र त्यसले जन्माएको नयाँ ‘दलाल पुँजीवाद’ले हाम्रो राज्यसत्तालाई अझ बढी जकडिरहेको छ । यो लेख दलाल पुँजीवादलाई सामन्तवाद र साम्राज्यवादको गठजोडबाट जन्मिएको एउटा ‘ठिमाह’ (Hybrid) उत्पादन पद्धतिका रूपमा विश्लेषण गर्दै, यसको विकल्पमा ‘तीन खम्बे अर्थनीति’ लाई मिसन बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा केन्द्रित छ ।
१.आधार र उपरिसंरचनाः इतिहासको भौतिकवादी कडी
माक्र्सवादी अर्थशास्त्रको आधारभूत मान्यता अनुसार, समाजको उपरिसंरचना (राज्यसत्ता, कानुन, संस्कृति) त्यस समाजको उत्पादन पद्धतिमा आधारित हुन्छ । सामन्तवादको युगमा भूमिको स्वामित्व नै उत्पादनको मुख्य साधन थियो। राजा वा राजतन्त्र त्यही सामन्ती जगलाई सुरक्षित राख्ने र किसानको श्रममाथि शोषण गर्ने उपरिसंरचना थियो। तर, समयक्रमसँगै जब समाजले पुँजीवादको बाटो समात्यो, तब सामन्तवादको राजनीतिक रूप (राजतन्त्र) ओझेलमा पर्यो । यद्यपि, सामन्तवादको त्यो परजीवी चरित्र, जो उत्पादनमा संलग्न हुँदैनथ्यो बरु राज्यको दोहन गथ्र्यो, त्यही मानसिकताले नयाँ स्वरूप धारण गर्यो। यही नयाँ स्वरूप नै आजको ’दलाल पुँजीवाद’ हो।
२.दलाल पुँजीवादः सामन्तवाद र साम्राज्यवादको ‘ठिमाह’ सन्तान
दलाल पुँजीवाद कुनै शुद्ध पुँजीवाद होइन । यो त ‘सामन्तवाद’ र ‘साम्राज्यवाद’ को अपवित्र गठजोडबाट जन्मिएको एउटा ठिमाह उत्पादन सम्बन्ध हो । यसका दुईवटा खम्बा छन्ः
सामन्तवादको अवशेषः राजतन्त्र हटे पनि सामन्ती उत्पादन सम्बन्धका मुख्य विशेषताहरू—जस्तैः बिचौलिया संयन्त्र, जमिन र प्राकृतिक स्रोतमाथिको नियन्त्रण, नातावाद, र राज्यको स्रोतमाथिको एकाधिकार—अझै जीवित छन्। यसले उत्पादनशील क्षेत्रमा लगानी गर्नुको सट्टा, राजनीतिक पहुँचका आधारमा कमिसन र ठेक्कापट्टामा रमाउने एक ’परजीवी वर्ग’ जन्माएको छ ।
साम्राज्यवादको प्रभावः साम्राज्यवादले राष्ट्रिय उत्पादनलाई कहिल्यै फस्टाउन दिँदैन । यसले कच्चा पदार्थ बाहिर पठाउने र तयार वस्तुहरू आफ्नो बजारमा पठाउने ‘बजार अर्थतन्त्र’ को निर्माण गर्छ । सामन्ती अवशेष बोकेको स्थानीय वर्गले साम्राज्यवादको यो चाहनालाई सघाउँछ । ऊ विदेशी कम्पनीहरूको एजेन्ट (दलाल) का रूपमा काम गर्छ । सामन्तवादले देशलाई भित्रबाट खोक्रो बनाउँछ भने साम्राज्यवादले बाहिरबाट परनिर्भर बनाउँछ। यी दुवैको मिलनबिन्दु नै ‘दलाल पुँजीवादी उत्पादन सम्बन्ध’ हो।
३. उत्पादन सम्बन्धको रूपान्तरणः दलाली/उत्पादन
सामन्तवादमा राजाको आदेश नै कानुन हुन्थ्यो र जमिनदारको इच्छा नै श्रमको नियति हुन्थ्यो भने, दलाल पुँजीवादमा ‘कमिसन र कोटा’ नै अर्थतन्त्रका चालक हुन्। यसमा उत्पादनका साधनहरू (पुँजी, प्रविधि) को सही सदुपयोग हुँदैन। दलाल पुँजीपतिले केही पनि उत्पादन गर्दैन; उसले विदेशी सामान आयात गर्छ र त्यसमा नाफा खान्छ । ऊ केवल एउटा ‘बिचौलिया’ हो। तसर्थ, दलाल पुँजीवाद सामन्ती उत्पादन सम्बन्धकै ‘रुपान्तरित’ र अझ जटिल स्वरूप हो। यसले राजतन्त्रको मुकुट हटाएको छ, तर त्यसको ठाउँमा ‘दलालको फाइलबुक’ राखिदिएको छ । यसले देशको युवाशक्तिलाई बिदेसिन बाध्य बनाउँछ ताकि यहाँ दलालहरूले आयातित वस्तु बेचेर नाफा कमाउन सकून् ।
४.‘तीन खम्बे अर्थनीति’ को मिसनः अबको बाटो
पुँजीवादी दुश्चक्रबाट बाहिर निस्कने र राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने एक मात्र अचुक अस्त्र भनेको ‘तीन खम्बे अर्थनीति’ (४०ः४०ः२०) को मोडेल हो। अबको आम सञ्चारको मुख्य मिसन यही अर्थनीतिको पक्षमा जनमत निर्माण गर्नु हुनुपर्छः
४०% निजी क्षेत्र (उत्पादक): दलाली गर्ने होइन, वास्तविक उत्पादन र नवीन प्रविधिमा लगानी गर्ने निजी क्षेत्रलाई प्रोत्साहन गर्ने।
४०% सहकारी क्षेत्रः उत्पादनका साधनहरूमा आम नागरिकको पहुँच पु¥याउन र पुँजीको विकेन्द्रीकरण गर्न सहकारी मोडेललाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने ।
२०% सार्वजनिक क्षेत्रःआधारभूत पूर्वाधार र रणनीतिक स्रोतहरूमाथि राज्यको बलियो पकड र नियमन सुनिश्चित गर्ने। यो मोडेलले उत्पादनका साधनहरूलाई दलाल र बिचौलियाको हातबाट खोसेर जनताको हातमा ल्याउँछ। जब नागरिकहरू आफैँ उत्पादनमा जोडिन्छन्, तब दलालहरूको अस्तित्व आफैँ समाप्त हुन्छ ।
५.आम सञ्चारको जिम्मेवारीः सत्यको उद्घाटन र मिसन
अबको आम सञ्चारको कार्यभार केवल समाचार संकलन मात्र होइन, बरु यो ‘ठिमाह पुँजीवाद’ को भ्रमबाट समाजलाई मुक्त गर्नु हो। सञ्चार माध्यमहरूले निम्न कुरामा मिसनका साथ अघि बढ्नुपर्छः
१. वैचारिक स्पष्टताः समस्या कुनै एक व्यक्ति वा शासन प्रणालीको नाममा मात्र होइन, उत्पादन पद्धतिको ‘दलाल चरित्र’मा छ भन्ने कुरा जनतालाई बुझाउने।
२. आर्थिक राष्ट्रवादः आयातमुखी अर्थतन्त्रलाई विस्थापित गरी ‘तीन खम्बे अर्थनीति’ मार्फत कसरी आत्मनिर्भरता हासिल गर्न सकिन्छ, त्यसको पक्षमा वकालत गर्ने।
३.उत्पादकको शक्तिः दलालीको अन्त्य र उत्पादक शक्ति (किसान, श्रमिक, उद्यमी) को उदयका लागि निरन्तर आवाज उठाउने।
निष्कर्षः नयाँ युगको आर्थिक क्रान्ति
दलाल पुँजीवाद एउटा यस्तो जाल हो, जसले हाम्रो विकासलाई जकडिरहेको छ । राजतन्त्रको अन्त्य एउटा राजनीतिक चरण थियो, तर अबको चरण ‘आर्थिक स्वतन्त्रता’ को हो। हामीले अब राजतन्त्रको मुकुटतिर होइन, हाम्रो श्रम र उत्पादनका साधनहरूतर्फ हेर्नुपर्छ । आम सञ्चार जगतले अब एक ‘मिसन’ का रूपमा ‘तीन खम्बे अर्थनीति’ को वकालत गर्दै देशलाई दलाल पुँजीवादको पासोबाट मुक्त गराउने संकल्प गर्नुपर्छ । जब हामीले उत्पादनको आधारलाई न्यायपूर्ण, आत्मनिर्भर र वैज्ञानिक बनाउँछौँ, तब मात्र यो दलाल पुँजीवादको ठिमाह संरचना भत्किनेछ । समाज रूपान्तरणको असली बाटो यही हो—जहाँ दलालको अन्त्य हुन्छ र उत्पादकको उदय हुन्छ । अबको पत्रकारिताको धर्म भनेको दलालीको पर्दाफास र आत्मनिर्भर अर्थतन्त्रको स्थापना हुनुपर्दछ ।



लाइभदाङ । २२ जेष्ठ २०८३, शुक्रबार ०५:५७ बजे