लघुकथा : “धर्ती र फुर्तीको द्वन्द्व”

आजाद खड्का
एउटा सानो गाउँमा धर्ती र फुर्ती नाम गरेका दुईजना थिए। धर्ती यथार्थमा अडिग, विवेकी, र गहिरो अध्ययन गर्ने बानी राख्थ्यो। उसले हरेक विषयलाई सूक्ष्म दृष्टिकोणले हेर्थ्यो र ठोस प्रमाणको आधारमा विचार प्रस्तुत गर्थ्यो। फुर्ती भने ठ्याक्कै उल्टो थियो—उ देखावटी, दम्भी, र आफुलाई अरूभन्दा विशेष ठान्थ्यो।

चौतारामा यी दुईको भेट प्रायः हुन्थ्यो। अन्य गाउँलेहरू उनीहरूको वहसमा रुचि राख्थे। धर्तीले गहिराइमा गई कुरा राख्थ्यो, जबकि फुर्ती सधैं आफूलाई धर्तीभन्दा फरक र अग्लो देखाउन खोज्थ्यो। उसलाई लाग्थ्यो, राम्रो देखिनु र आकर्षक रूपमा प्रस्तुत हुनु नै सफलता हो। तर, धर्तीले सधैं उसको देखावटीपनलाई नजरअन्दाज गर्थ्यो।

एकदिन चौतारामा गाउँलेहरू जम्मा भएका थिए। धर्ती र फुर्तीको वहस चल्दै थियो। त्यत्तिकै फुर्तीले अकस्मात् भने, ‘आज विहान म काजीसावलाई बाटामा भेटें ।’ उहाँले भन्नु भयो ‘चौतारीतिर गएँ, तर त्यहाँ बस्न योग्य कोही देखिन, त्यसैले त्यहाँ नबस्ने निर्णय गरें।’


काजीसाव धर्तीका मिल्ने साथी र अग्रज थिए। धर्तीलाई थाहा थियो कि फुर्तीले यो कुरा आफ्नो दम्भ र धर्तीलाई कमजोर देखाउनको लागि बनाएर भनेको हो। तर, धर्तीले केही प्रतिक्रिया दिएन, मौन रह्यो। फुर्तीले धर्तीलाई आफ्नो यो ‘गफ’ले हराउने प्रयास गर्यो, तर धर्तीको शान्ति र संयमले फुर्तीको कुरा त्यत्तिकै सेलायो।

वहस अगाडि बढ्दै गयो। गाउँलेहरू अन्तिममा धर्तीको गम्भीरता र विचारशीलता प्रति झुक्किए, जबकि फुर्तीका बनावटी गफहरू उनीहरूका लागि केही महत्व राखेनन्।
अन्त्यः
समय बित्दै जाँदा, धर्तीको विचार र शान्त संयमता गाउँमा धेरै मान्छेहरूले अपनाउन थाले। फुर्तीको देखावटीपन र दम्भ भने क्षणिक मात्र रह्यो। अन्ततः गाउँलेहरूले बुझ्न थाले कि साँचो शक्ति देखावटीमा होइन, यथार्थ र गहिरो समझमा हुन्छ।
सिकाइः
जीवनमा स्थिरता, संयम, र यथार्थवादी दृष्टिकोणले नै दीर्घकालीन सम्मान दिलाउँछ, जबकि फुर्ती र देखावटीपन क्षणिक हुन्छ।