रुकुमपश्चिममा पहिरो र चट्याङको दोहोरो विपत्ति, आठ घर तथा टहरा भत्किए

रुकुमपश्चिम, ७ भदौ ।
लगातारको वर्षापछि आएको पहिरो र चट्याङका कारण रुकुमपश्चिममा जनधनमा ठूलो क्षति भएको छ । पहिरोले आठ घर तथा टहरा भत्किएको छ भने ४३ घर उच्च जोखिममा परेका छन् ।

वर्षाका कारण मुसीकोट नगरपालिका १० मा चार घर र आठबिसकोट नगरपालिका १४ मा चार वटा टहरा भत्किएका छन् । त्यसैगरी मुसीकोट नगरपालिका १० का आठ वटा घर र आठबिसकोट नगरपालिका १३ का ३५ घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।

मुसीकोट नगरपालिका १० का वडा अध्यक्ष धनबहादुर खड्काले तल्लो चौर टोलका गणेश ओली, उमेश ओली, शेरबहादुर ओली र लालबहादुर ओलीको घर भत्किएको जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो चौरबाट झरेको पहिरोको कारण तल्लो चौरमा रहेका घरमा क्षति गरेको हो ।

वडा अध्यक्ष खड्काले गणेशको घरमा रहेका तीन बाख्रा र एक खसी, खाद्यन्न, लत्ताकपडालगायतका सामान घरसँगै पहिरोले पुरेको तर मानवीय क्षति नभएको बताउनुभयो । माथिल्लो चौरको धेरै भूभाग धाँजा फाटेको हुनाले अझै पहिरोको जोखिम रहेको छ । त्यस ठाउँका आठ वटा घर उच्च जोखिममा रहेका छन् ।

आठबिसकोट नगरपालिका १४ का वडा अध्यक्ष हुकुमबहादुर पुनले पहिरोले स्थानीय अतिराम मल्ल, रत्नाकुमारी मल्ल, अबिर मल्ल र गोर्खे महताराको टहरा भत्काएको बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि निर्माण गरिएका अस्थायी टहरा समेत पहिरोले भत्काएपछि उनीहरुको परिवार गोठमा बस्न बाध्य भएका छन् ।


यसैगरी, आठबिसकोट नगरपालिका १३ स्थित कालोपहिरो झर्दा यहाँका ३५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पानी परिरहेकोले थप क्षति हुन नदिन स्थानीयलाई अन्यत्र बस्न अनुरोध गरिएको वडा कार्यालयले जनाएको छ ।

यससँगै आठबिसकोट १४ मा परेको चट्याङका कारण चार जना घाइते भएका छन् भने केहि नीजि आवास र विद्यालयमा समेत क्षति पुगेको छ । वडा अध्यक्ष पुनका अनुसार ज्यामिरकोटस्थित गोर्खे महताराको घरमा चट्याङ लाग्दा उहाँकी छोरी २२ वर्षीया सुनिता महतारासहित चार जना घाइते भएका छन् ।

सुनिताको अवस्था गम्भीर भएपछि उपचारका लागि आठबिसकोट नगर अस्पतालमा भर्ना गरिएको छ । अन्य घाइते हुनेहरुमा स्थानीय जनविकास माध्यमिक विद्यालयका शिक्षक खिमानन्द चन्द, विद्यालयका छात्राहरू भवानी मल्ल र निरुता मल्ल रहनुभएको छ । उहाँहरुको स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

चट्याङले स्थानीयका घरमा र विद्यालयमा समेत क्षति गरेको छ । वडा अध्यक्ष पुन, स्थानीय चन्द्रे मल्ल लगायतको घरमा जडान गरेका सोलार र बिजुलीका तार जलेर नष्ट भएका छन् । यसैगरी, विद्यालयको शिक्षक आवास भवनमा समेत चट्याङले क्षति गरेको छ । क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।