घोराही ८ का अध्यक्ष शाहको राजीनामा स्वीकृत,अध्यक्ष पद गयो

दाङ, २ भदौ । घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले १२ असार २०८० मा नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुभाएका थिए । त्यसको दुई बर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो ।

नगर प्रमुख चौधरीका अनुसार आफूले गएको बर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए ।

एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा पार्टीबाट समेत कारवाही गरेको थियो ।


यो बीचमा धेरै पटक सुधार्न खोजेपनि नसुध्रिएपछि राजीनामा स्वीकृत गरिएको नगर प्रमुख चौधरीको भनाई छ ।“धेरै पटक सम्झाउन खोजियो”,उनले भने“तर, उहाँले मान्नु भएन, नसुध्रिएपछि राजीनामा स्वीकृत गरियो ।”

उनको राजीनामा स्वीकृत भएपछि जेष्ठताका आधारमा चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

शाह काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका थिए ।उनले १४५१ मत ल्याएका थिए, भने काँग्रेसका उम्मेदवार धनिराम चौधरीले १२४४ मत ल्याएका थिए ।