तीज खर्च कटाएर विद्यार्थीलाई राउन्ड टेवलकालागि ४० हजार सहयोग

तुलसीपुर, १ भदौ । दाङ तुलसीपुर ५ निवासी महिला उद्यमी सपना भण्डारी बस्नेतले तुलसीपुर–९ दोघरेमा रहेको माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेकी छन् । तुलसीपुर–५ निवासी बस्नेतले आइतबार विद्यालयमै पुगेर ४० हजार रुपैँया सहयोग गरेकी हुन् ।

विद्यालयमा राउन्ड टेवल निर्माणकालागि बस्नेतले उक्त रकम सहयोग गरेकी हुन् । जसले विद्यार्थीलाई पढाईमा सहज बनाउने अपेक्षा लिइएको छ । उक्त रकम विद्यालयका प्रधानाध्यापक सुनिता यादवलाई हस्तान्तरण गरिएको हो ।

आईतबार विद्यालयमा पुगेर सहयोग गरिएको हो । तीज पर्वमा गर्ने खर्चलाई बचत गरि उनले सो रकम सहयोग गरेकी हुन् । तीजमा फजुल खर्च गरेर सक्नु भन्दा बचत गरेर विद्यार्थीहरुको भविष्यमा लगाउनु पर्ने भन्दै आफूले यस्तो सहयोग गरेको बस्नेतले बताईन् ।


विद्यालयका प्रधानाध्यापक सुनिता यादवले यस्तो कार्यले विद्यालयलाई सहयोग पुगेको भन्दै सामाजिक ब्यक्तिहरुले विद्यालयमा यसरी नै सहयोग गर्नुपर्ने बताईन् । त्यस्तै डा. किशोर खत्रीले पनि विद्यालयमा १ लाख बराबरको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकाल, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले मावि दोघरेको शैक्षिक एवं भौतिक विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सहजीकरण विद्यालयका सूचना अधिकारी मेघराज पोखरेलले गरेका थिए ।