अब तुलसीपुरमा ज्ञानसिन्धु कलेज

तुलसीपुर, १८ साउन ।
ज्ञानसिन्धु कलेज अब नयाँ व्यवस्थापनका साथ तुलसीपुरस्थित डिभाइन एजुकेसन फाउन्डेसनको मातहतमा सञ्चालन हुने भएको छ । लामो समयदेखि घोराही क्षेत्रमा सञ्चालित यस कलेजलाई नयाँ व्यवस्थापनमा लगिएको हो । हाल यो कलेज तुलसीपुरस्थित डिभाइन टेम्पल एकेडेमीको नवनिर्मित आधुनिक संरचनाबाट सञ्चालन हुने बताइएको छ ।

जसमा कलेजले भोजराज न्यौपानेलाई प्रमुखमा र टेकन प्रसाद कँडेललाई सहायक प्रमुखमा नियुक्त गरिएको छ । आइतबार आयोजित एक औपचारिक कार्यक्रममा क्याम्पसका प्रमुख सल्लाहकार डा. विष्णुकुमार देवकोटाले नवनियुक्त प्रमुख न्यौपानेलाई पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै न्यौपानेले कलेजलाई गुणस्तरीय र व्यवहारमुखी शिक्षाको केन्द्र बनाउने र व्यवस्थापन संकायलाई नयाँ सोचका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।


कलेजका अध्यक्ष युवराज रावतका अनुसार ज्ञानसिन्धुलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने र व्यवस्थापन संकाय अध्ययनका लागि विद्यार्थीहरू बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको छ । अब नर्सरीदेखि बीबीएससम्मको पढाइ एउटै संस्था अन्तर्गत हुने व्यवस्था मिलाइएको छ ।