दाङका विभिन्न सामुदायिक वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

दाङ ,२० साउन।
दाङका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपा ई राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन १६ देखि १९ गतेसम्म जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा विशेष खोजतलास अभियान सञ्चालन गरिएको थियो। अभियानमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोली सहभागी थिए।


खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका– ४, ५, ६, ७ र ८ अन्तर्गत रहेका हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट ४८ नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, लमही नगरपालिका– ९ स्थित बिरह सामुदायिक वनबाट थप सात नाल भरुवा बन्दुक फेला परेको छ। बरामद गरिएका सबै बन्दुकका नाल बेवारिसे अवस्थामा रहेका थिए। प्रहरीले बरामद गरिएका भरुवा बन्दुकका नालको स्रोत र प्रयोगबारे थप अनुसन्धान भइरहेको जनाएको छ