
घोराही, १८ साउन।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजसम्मकै सबैभन्दा बढी बिरामीको चाप देखिएको छ। प्रतिष्ठानको लाइभ सेवा तथ्यांकअनुसार आज एकै दिन १,२८५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । जुन प्रतिष्ठानको इतिहासमै हालसम्मको सबैभन्दा उच्च दैनिक बिरामी संख्या हो।
तथ्यांकअनुसार १,१८० जना बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिएका छन् भने ५१ जना आकस्मिक (इमर्जेन्सी) सेवामा उपचारका लागि आएका छन्। यसैगरी ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन्।
आकस्मिक सेवामा उपचार गराएकामध्ये २६ जना पुरुष र २५ जना महिला रहेका छन् भने ओपीडी सेवामा ४३५ जना पुरुष र ७४५ जना महिलाले सेवा लिएका छन्। साथै ४४६ जना बिरामीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचार सेवा प्राप्त गरेका छन्।
प्रतिष्ठानमा बढ्दो बिरामी चापले यहाँप्रतिको जनविश्वास अझ मजबुत बन्दै गएको संकेत गरेको छ। विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण प्रदेश तथा आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान पुग्ने क्रम बढिरहेको छ।
उच्च बिरामी चापका बीच पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेका छन्। प्रतिष्ठानले सेवाको गुणस्तरलाई कायम राख्दै सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइरहेको जनाएको छ।
आजको यो तथ्यांकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा प्रवाहमा नयाँ कीर्तिमान कायम गर्दै क्षेत्रीय स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा आफ्नो भूमिका थप मजबुत बनाएको देखिएको छ।



लाइभदाङ । १८ श्रावण २०८३, सोमबार २०:४७ बजे