पूर्व धानखोलादेखि पश्चिम अर्जुन खोलासम्मको राजमार्गलाई १६ मिटरको चौडा बनाइने

भालुवाङ, ३ पुष ।
दाङ–कपिलवस्तुको सिमाना धानखोलादेखि पश्चिम लमही नगरपालिकाको अर्जुन खोला सम्मको ४० किलोमिटर राजमार्गलाई १६ मिटरको चौडा बनाइने भएको छ ।

नेपाल सरकार तथा अमेरिकी सरकारको अनुदान सहयोगमा एम.सी.एन मार्फत ४० किलोमिटर सडकखण्ड मर्मत सम्भार परियोजना अन्तरगत सो सडकको मध्ये बिन्दुबाट दायाँबायाँ ८/८ मिटर गरी कुल १६ मिटर चौडाई रहने गरि सडक मर्मत सम्भार गर्न लागिएको सो परियोजनाका पुर्नबास विज्ञ रविन ढकालले जानकारी दिएका छन् ।


अवको ७/८ महिनाबाट सवै प्रकृया पुरा गरेर काम सुरु गरिने र काम सुरु भएको मितिले १५/१६ महिना भित्र काम सम्पन्न गरिसक्ने परियोजनाका पुर्नबास विज्ञ ढकालले जानकारी दिएका छन् । यसै बीच सो परियोजनाले शनिवार राप्ती गाउँपालिका ५ र ८ का सडक छेउका नागरिकलाई सिसहनियाँ बजारमा भेला गराई अव बन्ने सडकको संरचना बारे जानकारी गराउनुका साथै सल्लाह सुझाव समेत संकलन गरेको छ ।

सो भेलामा परियोजनाका सामाजिक सुपरभाइजर तारा लामिछाने, नवीन रावल, सडक छेउ छाउका स्थानीय लगायतको उपस्थिति रहेको थियो । यस अघि सडक डिभिजन कार्यालय दाङले पुर्व धानखोला देखि पश्चिम शिवखोला सम्मको पुर्व पश्चिम राजमार्गको दायाँ–बायाँ ३१/३१ मिटर भित्रका संरचना हटाउन १५ दिने सुचना समेत जारी गरिसकेको थियो ।