
दाङ, १९ साउन ।
दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन ठेक्कामा करिब डेढ करोड रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, राजस्व शाखा प्रमुख शम्भु चौधरी तथा ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का र प्रतिनिधि विकास पुनविरुद्ध मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा राप्ती नदी क्षेत्रअन्तर्गत रङसिङ, राप्ती दोभानदेखि मलमला घाटसम्मको नदीजन्य पदार्थ उत्खनन ठेक्कामा आपसमा मिलेमतो गरी १ करोड ४१ लाख ५० हजार रुपैयाँ सरकारी राजस्व नोक्सानी पुऱ्याएको पुष्टि भएपछि अख्तियारले मङ्गलबार आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारको अनुसन्धान अनुसार, गाउँपालिकाले २०७६ पुस १४ गते सगुन कन्स्ट्रक्सन, बुटवलसँग भ्याटबाहेक २ करोड ८२ लाख ९७ हजार ६९२ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता गरेको थियो । ठेक्का कार्यान्वयनका क्रममा स्थलगत निरीक्षण, नापजाँच तथा प्राविधिक प्रतिवेदनबिनै उत्खनन परिमाण यकिन नगरी ठेकेदारसँग आपसी मिलेमतो गरिएको पाइएको छ ।
व्यवसायीले माग्दै नमागेको ‘राजस्व छुट’ सम्बन्धी विषयमा राष्ट्रसेवक पदाधिकारीहरूले पदको दुरुपयोग गरी गाउँ सभाबाट दोस्रो किस्ता बैंक जमानतबापतको १ करोड ४१ लाख ५० हजार रुपैयाँ गैरकानुनी रूपमा मिनाहा गराएका थिए ।
प्रदेश कानुन तथा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि विपरीत स्थानीय तह र प्रदेश सरकारको हिस्सामा पर्ने राजस्वमा स्वेच्छाचारी निर्णय गरी गैरकानुनी लाभ लिए–दिएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) बमोजिमको कसुरमा सबै प्रतिवादीहरूबाट १ करोड ४१ लख हजार रुपैयाँ बिगो असुलउपर, कैद सजाय र चुहावट गराएको राजस्व रकमको दोब्बर जरिवानाको मागदाबी गरेको छ ।



लाइभदाङ । १९ श्रावण २०८३, मंगलवार १८:१० बजे