तीज पर्वलाई मौलिक ढंगले मनाउनु पर्नेमा जोड

 रेखा गौतम
तुलसीपुर, ३१ साउन ।
रातो र हरियो रंगमा सजिएका महिलाहरूको उपस्थितिले विहिबार तुलसीपुर ११ मोतीपुर एक विशेष माहोलमा डुबेको थियो ।  हरितालिका तीजको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर नगरकमिटीको आयोजना गरिएको तीज मिलन कार्यक्रम भव्य उत्साह र उल्लासमय वातावरणका बीच सम्पन्न भयो ।

सांगीतिक तालमा नाच्दै गाउँदै महिलाहरूले तीजको उल्लास पोख्दा हाँसो र खुसीको लहर दौडिएको थियो । “तीज केवल पर्व मात्र होइन, आत्मबल र सामाजिक एकताको प्रतीक पनि हो,” कार्यक्रमकी प्रमुख अथिती राप्रपाकी केन्द्रीय सदस्य सरिता देवकोटाले सम्बोधन गर्दै भनिन् । कार्यक्रममा सहभागीहरूले परम्परागत तीज गीत, लोकदोहोरी र नृत्य प्रस्तुत गरेका थिए ।

प्रस्तुतिहरूले मौलिक संस्कृतिलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई परम्परासँग जोड्ने सन्देश दिएको थियो। सोही कार्यक्रममा राप्रपा महिला संगठनकी केन्द्रीय सदस्य बिमला घर्तीले तीजलाई संस्कृति संरक्षण र सामाजिक सद्भावको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिईन् । उनले तीज पर्वलाई महिलाको आत्मबल अभिवृद्धि र आपसी सद्भाव विस्तार गर्ने माध्यमका रूपमा चित्रित गरिएको बताईन् । महिला संगठनकी केन्द्रीय सदस्य उषा राणाले तीजलाई मौलिक र सृजनात्मक ढंगले मनाउनुपर्ने तथा संस्कृतिमा देखिएका विकृति सच्याउँदै समाजमा सकारात्मक सन्देश फैलाउनुपर्ने धारणा व्यक्त गरेकी थिईन् ।


“तीज मिलनले महिलाबीच भेटघाट, अनुभव आदान–प्रदान र एक–अर्काप्रति सहकार्यको भावना मजबुत बनाउँछ,” राप्रपा तुलसीपुर नगरकमिटीका अध्यक्ष पर्वत बस्नेतले भने उनले महिला दिदि बहिनीहरुलाई तीज पर्वको अवसर पारेर दर खुवाउने परम्परालाई निरन्तरता दिने प्रयास गरेको बताए । कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य शिव चौधरी, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष भुपाल रावत, लुम्बिनी प्रदेशका सह–सचिव दिपक धिताल निर्वतमान जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत, पुर्वकेन्द्रीय सदस्यहरु लगायतको सहभागितामा  सम्पन्न कार्यक्रममा सहभागी महिलाहरू परम्परागत रातो तथा हरियो पोशाकमा सजिएर तीजका भाका, सांस्कृतिक नृत्य र लोकगीत प्रस्तुत गरेका थिए । कुन्ता बस्नेतको स्वागतबाट सुरु भएको तीज मिलन कार्यक्रम महिला नेतृ दुर्गा केसीले सञ्चालन गरेकी थिईन् ।

कार्यक्रमको समापनमा सहभागीहरूले एक–अर्कासँग शुभकामना आदान–प्रदान गर्दै तीज पर्वले सबैमा नयाँ उमंग र उत्साह भरिदिने विश्वास व्यक्त गरेका थिए । नाचगान, रमाइलो र उल्लाससँगै सम्पन्न कार्यक्रमले नारीहरूको सक्रियता र सहभागितालाई उजागर गरेको देखिएको छ ।