बबईमा निःशुल्क स्वास्थ्य शिविर, पाँच सयभन्दा बढीले लिए सेवा

घोराही, २३ साउन ।
दाङको बबई गाउँपालिका–स्थित हंसपुरमा सञ्चालन गरिएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।

बबई गाउँपालिका र तीन सय शय्याको संजीवनी टिचिङ हस्पिटल, घोराहीको संयुक्त आयोजनामा बबई आधारभूत अस्पताल हंसपुरमा शनिबार शिविर सञ्चालन गरिएको हो। शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्शका साथै ल्याब परीक्षण, भिडियो एक्स–रे र औषधि वितरणसमेत निःशुल्क गरिएको थियो।

शिविर उद्घाटन गर्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउनु स्थानीयवासीका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले प्राविधिक सहयोगका लागि संजीवनी अस्पताललाई धन्यवाद दिँदै स्वास्थ्य सेवाको विस्तारमा आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोखिम ओलीले जिल्लामै अत्याधुनिक स्वास्थ्य सेवासहित संजीवनी टिचिङ हस्पिटल सञ्चालनमा आउनु खुसीको विषय भएको बताए। उनले गाउँपालिकाले आधारभूत अस्पतालबाट सेवा सुरु गरिसकेकाले आगामी दिनमा आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए।

संजीवनी अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनका अनुसार प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना, विशेषज्ञ सेवामा पहुँच र आवश्यक परे थप उपचारका लागि प्रेषण गर्नु शिविरको मुख्य उद्देश्य हो।

रोका अनुसार शिविरमा उपचार गराएका बिरामीले थप उपचारका लागि संजीवनी अस्पतालमा सेवा लिएमा औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ।


अस्पतालका व्यवस्थापक मदनप्रसाद पन्थीका अनुसार शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूति, जनरल सर्जरी, शिशु तथा बालरोग र नाक, कान, घाँटीलगायतका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए।

पन्थीले संजीवनी टिचिङ हस्पिटलमा न्युरो तथा युरोसम्बन्धी विशिष्टीकृत सेवासहित आईसीयू, सीसीयू, एमआईसीयू, एनआईसीयू, पीआईसीयू, एसआईसीयू र एचडीयू सञ्चालनमा रहेको जानकारी दिए। अस्पतालमा डिजिटल एक्स–रे, भिडियो एक्स–रे, म्यामोग्राफी, ईसीजी, इको, सीटी स्क्यान, एमआरआई, इन्टर्भेन्सनल इन्डोस्कोपी, कोलोनोस्कोपी र हेमोडायलासिस सेवा उपलब्ध रहेको तथा कार्डियोलोजी सेवा पनि छिट्टै सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

शिविरको संयोजन संजीवनी अस्पतालका प्रशासनिक अधिकृत सुशील रिजाल, बबई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि खड्का र आधारभूत अस्पतालका प्रमुख शरदराज गिरीले गरेका थिए।

शिविरमा सेवा लिएका गोनी ओली, मिनबहादुर बुढाथोकी र निर्मला डीसीलगायतले चिकित्सकको परीक्षण तथा परामर्शबाट आफूहरू सन्तुष्ट भएको बताए। उनीहरूले भिडियो एक्स–रे, ल्याब परीक्षण र औषधिसमेत निःशुल्क प्राप्त गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, कर्मचारी, स्वास्थ्य स्वयंसेविका तथा सुरक्षाकर्मीलगायतको सहभागिता थियो। उद्घाटन सत्रको सञ्चालन गाउँपालिकाका प्रशासन अधिकृत कृष्णकुमार कँडेलले गरेका थिए।