राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट ६ जनाको उम्मेदवारी दर्ता

दाङ,२० पुस । राष्ट्रियसभा सदस्यकालागि लुम्बिनीबाट ६ जनाको उम्मेदवारी परेको छ । तीन जना रिक्त पदमा हुन लागेको निर्वाचनकालागि सत्तापक्षीय गठबन्धन र प्रतिपक्ष एमालेले आ–आफ्ना उम्मेदवार बनाएका छन् । दाङको घोराहीस्थित मुुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गरिएको हो ।

जस अनुसार नेपाली कांग्रेसबाट अन्य समुदायबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा पाल्पाकी राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट दलितमा रूपन्देहीका तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गराएको आयोगका लुम्बिनी प्रदेश दाङका निर्वाचन अधिकारी निमराज अधिकारीले जानकारी दिए । माघ १२ गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट अन्य समुदायमा दाङका रामदयाल गुप्ता, अन्य समुदायबाट बाँकेकी भारती खनाल उपाध्याय र दलितबाट गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका हुन् ।

लुम्बिनी प्रदेशमा महिला कोटाबाट राष्ट्रियसभा सदस्य बनेकी कोमल वली, दलित कोटाबाट रामलखन चमार र अन्य समुदायबाट दृघनारायण पाण्डेको पदाबधी सकिन लागेको भन्दै उनीहरुको स्थानमा निर्वाचन हुन लागेको हो । फागुन २० सम्म उनीहरुको पदावधी रहेको छ । त्यसको ३५ दिन भित्रै रिक्त हुन लागेका पदमा निर्वाचन गराई सक्नु पर्ने प्राबधान रहेको छ । उनीहरुको गोलाप्रथाद्वारा ४ बर्ष पदाबधी रहेको थियो ।


निर्वाचन कार्यालयले उम्मेदवारलाई आउँदो पुस २५ गते चुनाव चिह्न दिने कार्यक्रम छ । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र १२ वटा जिल्लाका स्थानिय पालिका प्रमुख तथा उपप्रमुख २१५ जना गरी २९६ जना मतदाता रहेका छन् ।