हत्या अभियुक्त महिला २३ वर्षपछि पक्राउ

दाङ, २१ साउन ।
दाङमा आफ्नै सौताको छोराको हत्या गरी २३ वर्षदेखि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका–७ मानपुरका ५० वर्षीया बसन्ता शर्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

२०५९ साल असार १९ गते आफ्नै सौताको ९ वर्षीय छोरा शरद शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको अभियोगमा जिल्ला अदालत दाङले शर्मालाई २०६० साल असोज २६ गते दुई वर्ष कैद सजाय तोकेको थियो । तर पुनरावेदन अदालतले सोही वर्ष माघ ३ गते कैद सजाय बढाएर १० वर्ष पुर्‍याएपछि उनी फरार रहेको डिएसपी शाहले जानकारी दिनुभयो ।


अदालतको फैसलापछि शर्मा फरार भएकी थिइन । शर्मा काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएको थाहा पाएपछि इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी टोली खोजतलासका लागि खटिएको थियो ।

गढवा प्रहरी टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा नयाँ बसपार्कस्थित सडक खण्डमा शर्मालाई मंगलबार बिहान साढे ८ बजेतिर पक्राउ गरेको डिएसपी शाहले जानकारी दिनुभयो । शर्मालाई कैद सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।