तीनकुनेमा राजावादीको आन्दोलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु

काठमाडौँ, १५ चैत ।
तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

गृह मन्त्रालयका सह सचिव छवि रिजालका अनुसार मृत्यु हुनेमा किर्तीपुरका २९ वर्षिय सविन महर्जन रहेका छन् । तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो ।


प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सा‌ंघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।

प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।