
दाङ, २१ साउन ।
घोराही–लमही सडकमा आजदेखि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार मसोट खोला पुल मर्मतका लागि घोराही–लमही सडकखण्डमा आज (बुधबार) बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ सम्म ठुला सवारी सञ्चालनमा रोक लगाइने भएको हो ।
पुल मर्मतको समयमा दुई पांग्रे सवारी साधन भने निर्वाधरुपमा सञ्चालन हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले दुई पांग्रे सवारी साधनबाहेक अन्य सवारी साधनले उक्त समयमा अर्जुनखोला–अमेलिया–तुलसीपुर सडक खण्ड प्रयोग गर्न आग्रह गरेका छन् ।
जिल्लास्थित सरोकारवालाको शनिबार बसेको आकस्मिक बैठकले घोराही–लमही सडकमा ठुला सवारी साधनलाई रोक लगाएर मसोट खोलाको पुलको आकस्मिक मर्मत गर्ने निर्णय गरेको थियो । मसोट खोला पुल जिर्ण हुँदा दुर्घटनाको जोखिम बढेकोले मर्मतका लागि ठुला सवारी आवागमनमा रोक लगाएको कार्यालयले जनाएको छ ।



लाइभदाङ । २२ श्रावण २०८२, बुधबार ०९:५९ बजे