
केही दिन अघि दाङ तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरका एक किसानले विक्री गर्दै गरेको तरकारी नै जफत भयो । ति किसानले आफूले उत्पादन गरेको तरकारी मोटरसाईकलको पछाडी डोको बनाएर बजार–बजारमा बेच्ने गर्थे । ति किसान थिए– तुलसीपुर ४ माथिल्लो हलवार निवासी धनराज बुढाथोकी । डोकोमा राखेर तरकारी बेच्नु उनको बाध्यता पनि हो । किसानले उत्पादन गरेको तरकारी विचौलियाले एकदमै न्यून मूल्यमा विक्री गर्नुपर्ने अबस्था छ । तर, तिनै विचौलियाले बजारमा उपभोक्तालाई चर्को मूल्यमा विक्री गर्दै आएका छन् । यसरी किसान पनि मारमा पर्ने र उपभोक्ता पनि मारमा पर्ने अबस्था छ । यसलाई चिर्न पनि बुढाथोकीले राम्रो भूमिका खेले । यद्यपी कानुनी रुपमा केही कमजोरी भए होलान् । मोटरसाईकलका पछाडी डोको बोक्नु टूाफिक नियम अन्तर्गत पर्छ, वा पर्दैन । उनले बजारमा सडकमै विक्री गरिरहेका छन्, त्यो सही छ वा छैन, त्यो एउटा पाटो रह्यो ।
यद्यपी उनले किसान मारमा परिरहेका बेला गरिरहेको कार्य एक किसानको विद्रोह हो । उनले आफैले उत्पादन गरेको तरकारी विचौलियालाई दिएर, विचौलिया मोटाउन चहादैनन् । आफूले उत्पादन गरेको तरकारी सहजै विक्री गर्न पाउनु पर्छ, भन्ने उनको सन्देश छ । अहिले पनि बजारमा छ्याप्छ्याप्ती भारतबाट आएको तरकारी नै हुन्छ । जुन अर्गानिक पनि हुँदैन । विषादीले नै भरिएको अबस्थामा हुन्छ । यही ठाउँमा उत्पादन भएको तरकारीले आत्मनिर्भर भएमा भारतबाट पनि तरकारी ल्याउनु पर्ने अबस्था रहदैन । जसले गर्दा उहाँको आम्दानीको स्रोत बढ्यो । यो ठाउँको पैसा पनि बाहिर जान पाएन । त्यसले गर्दा पनि किसानहरुले गरिरहेको कामलाई प्रोत्साहन गर्नुपर्छ ।
धेरै जग्गा बाँझो राखेर विदेश जाने चलन पनि बढिरहेको छ । स्वदेशमा केही छैन, भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । नेपालमा केही नगर्ने तर, विदेशमा गएर भाडा माझ्न पनि तयार हुने र नेपाललाई गाली गर्ने प्रबृति तिब्र रुपमा बढिरहेको छ । यसले नेपालमा गाली गर्ने प्रबृति बढिरहेको छ । यस्तो अस्थामा बुढाथोकी जस्ता किसानलाई प्रोत्साहन गर्नुपर्छ, ता की अरुलाई पनि नेपालमै केही गर्न सकिन्छ, भन्ने सचेतना प्रदान होस् । त्यसैले पनि स्थानीय सरकार होस्, वा अन्य सरकारले यस्ता किसानहरुलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्दछ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २२ श्रावण २०८२, बुधबार ०९:४८ बजे