प्रादेशिक अस्पतालका सटर खाली गर्न पत्र लेखियो तर, बीचमै रोकियो 

दीपक बोहरा
दाङ, २१ साउन ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका १६ वटा सटरको सम्झौता मिति गएको असार मसान्तमा सकिएको छ । म्याद सकिएपछि ति सटर खाली गर्न अस्पताल प्रशासनले चिठी पनि पठायो, भने सूचना पनि जारी ग¥यो । तर, सटरवालाहरु सटर खाली गर्न तयार भएनन् । त्यति मात्रै होईन्‘सटरवाला नै पावरफुल’ देखिए । उनीहरुको चलखेलले नै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नै राजीनामा दिन बाध्य भए । तर, अस्पतालको सटरवालाहरु‘टसमस’ नै भएनन् । उनीहरुका अगाडी अस्पताल विकास समितिका निर्णय नै ‘फगत’ भए ।

२ वर्ष अघि पदम प्रसाद न्यौपाने अध्यक्ष हुँदा नै टेन्डर गर्ने भनि निर्णय भएको थियो । तत्कालिन अवस्थामा त्यो निर्णय कार्यान्वयन भएन । केही समय अघि अध्यक्ष भइ आएका महेन्द्र लामिछानेले पनि यो निर्णय गराए । तर, न्यौपानेलाई नै अध्यक्ष कायम गर्न अदालतले आदेश गरेपछि उनी पुनः आए । र, उनी आएपनि त्यो निर्णय कार्यान्वयन भएन । २३ असारमा सटरवालाहरुलाई छोड्नकालागि चिठी पनि पठाईसकिएको थियो । तर, त्यो अनुसार पुनः टेन्डर गर्न अस्पतालका निमित्त मेसु पदमराज अधिकारीलाई अवरोध भयो । पुरानै सम्झौतालाई नविकरण गरिदिने गरि चलखेल सुरु भएको र हालका मेसुलाई नै हटाउने गरि तयारी गरेपछि अधिकारी आफैले राजीनामा बुझाएका हुन् ।

अर्को तर्फ अस्पताल फार्मेसी सेवा निर्देशिका अनुसार अस्पताल परिसरमा बाहिरका फार्मेसी राख्न मिल्दैन । तर, अस्पतालको हात्ताभित्रै साझा फार्मेसी छ । त्यसलाई हटाउने पनि निर्णय भयो । तर, त्यसलाई पनि हटाउन आनाकानी भएको छ ।  साझालाई हटाएर आफ्नै फार्मेसी विस्तार गर्ने गरि आफूले तयारी गरेको भएपनि सफल नभएको मेसु अधिकारीले बताए । उनका अनुसार प्रदेशले मेडिकल अफिसर र नर्सिङ कर्मचारीको आवेदन लिएपनि आफ्ना मान्छे राख्नकै लागि अन्तरवार्ता नै स्थगित गरेको, आफ्ना कर्मचारी राख्न पनि दवाव दिने गरिएको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेका अनुसार टेन्डरको विषय पेचिलो भएकाले पनि राजीनामा आएको हुन सक्ने बताए । “निर्णय नै भइसकेको विषय भएकाले पछाडी हट्न पनि नसकिने भयो”,उनले भने “अगाडी बढ्दा पनि अवरोध धेरै हुने भयो, त्यसलाई पनि थेग्न गाह्रो भयो होला ।” अहिल्यै साझालाई हटाएमा अस्पतालले औषधी पनि पु¥याउन नसक्ने भन्दै हटाउन पनि गाह्रो हुने उनले बताए । यद्यपी अहिलेका सटरलाई भत्काएर पर्खाल बनाउने र अस्पताल आफैले प्रयोग गर्ने गरि पनि योजना बनाउने विषयमा आफूले सोचिरहेको अध्यक्ष न्यौपानेको भनाई छ ।


स्वीकृत भएन राजीनामा 
लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले राजीनामा दिएको दुई हप्ता भन्दा बढि भइसकेको छ । ३० असारमा मेसु अधिकारीले राजीनामा दिएका हुन् । तर, त्यो राजीनामा कुनै पनि सुनुवाई भएको छैन । राजीनामा दिइसकेपछि मेसु अधिकारीलाई काम गर्ने जागर पनि छैन । यस्तो अवस्थामा तत्काल नयाँ मेसु नियुक्ती गरेर पठाउनु पर्ने उनको भनाई छ । “काम गर्ने सहज वातावरण नभएपछि नै मैले राजीनामा दिएँ”,उनले भने“तर, अहिले त्यही राजीनामा पनि स्वीकृत भएको छैन, काम गर्ने वातावरण भए त राजीनामा नै दिनु पर्थेन नी ।”

उनले लुम्बिनी प्रदेशका प्रमुख सचिब बाबुराम अधिकारीलाई राजीनामा बुझाएका हुन् । तर, राजीनामा आउँदैमा स्वीकृत नभइहाल्ने प्रमुख सचिब अधिकारीको भनाई छ । उनका अनुसार राजीनामा स्वीकृत नहुँदासम्म पुरानै मेसुले काम गरिरहेको समेत बताए । “राजीनामा आएको छ, तर, उहाँको राजीनामा स्वीकृत भएको छैन”,उनले भने“अर्को मेसु तोक्ने तयारी छ, तर, अर्को नआउँदासम्म उहाँले नै काम गर्नुुहुन्छ ।”

मेसु तोक्नकालागि सर्वोच्च अदालतले मापदण्ड बनाउन आदेश गरेको भन्दै सोही अनुसार प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताए । उनका अनुसार कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताए । त्यो कार्यविधि मन्त्री परिषद बैठकबाट पारित भएपछि मात्रै नयाँ मेसु पठाईने उनको भनाई छ । त्यसकालागि केही समय लाग्ने उनले बताए ।

अधिकारी डिल्ली चौधरी मुख्यमन्त्री हुँदा मेसु नियुक्त भएका थिए । तर, पछि तिनै चौधरीले कर्मचारी नियुक्तीमा दवाव दिएपछि उनीहरुबीच सम्बन्ध चिसिदै गएको थियो । यो चौधरीकै निर्वाचन क्षेत्र भएकाले पनि नयाँ मेसु नियुक्तीकालागि पनि उनलाई नै जिम्मा थियो । यद्यपी उनको विश्वासको पात्र नभएकाले पनि ढिलाई भइरहेको स्रोतको भनाई छ । साभारः अग्रिम साप्ताहिक