बाँके, ५ बैशाख ।
क्रिप्टो मार्फत गैर कानूनी कारोबार गरेको आरोपमा बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गैर कानूनी रुपमा विदेशी मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१८ भाटभटेनी नजिकबाट कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा नेपालगन्ज उपमहानगरपालिका-२० का अमृत वर्मा र जानकी गाउँपालिका-१ का रियाज खाँलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
वर्मा र खाँले विनान्सरविटगेट मार्फत यूएसडिटी (क्रिप्टो करेन्सी)को अबैध कारोबार गरि सो बापत दैनिक अन्दाजी एक करोड रुपैयाँसम्मको अबैध कारोबार गरेको अनुसन्धानबाट खुलेको उनले बताए ।
डिएसपी डाँगीले भने, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको छ । बाँकी कुरा अनुसन्धानबाट खुल्नेछ ।’ पक्राउ परेकालाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले बताएको छ ।
लाइभदाङ । ५ बैशाख २०८१, बुधबार ११:५२ बजे