मेट्रो कलेजले मनायो खाद्य स्वच्छता दिवस

तुलसीपुर २४ जेठ।


तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले खाद्य स्वच्छता कायम गर्नका लागि स्थानीय सरकारले विशेष योजना ल्याउने बताएका छन् । विषादीयुक्त खानाको प्रयोग बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उनको भनाई थियो ।
तुलसीपुर मेट्रो कलेजले खाद्य स्वच्छता दिवसको अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले बालबालिका र युवाहरुमा जंकफुडको प्रयोग बढ्दै गएको प्रति दुख व्यक्त गरे । ‘स्वादको पछाडी लागेर हामीले हाम्रो जीवनशैली नै वदलेका छौ,विषादीयुक्त खानाका कारणले गर्दा अहिले विभिन्न रोगहरु देखिएका छन्’ नगरप्रमुख खड्काले भने ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्च दाङ्गका अध्यक्ष केशव कुमार शर्माले गुणस्तरहिन वस्तुको उपभोगका कारणले उपभोक्ताको स्वास्थ्य खतरामा परेको बताए । उनले बजारमा पाइने खानेकुराहरुलाई स्वच्छ बनाउनका लागि स्थानीय सरकारको भुमिका विशेष हुने कुरामा जोड दिए ।
खाद्य वस्तुका बारेमा आम जनतामा सचेतना फैलाउन आवश्यक रहेको पनि नगरप्रमुख खड्काको भनाई थियो । कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उपभोक्ता चनाखो भएमा व्यवसायीले गलत काम गर्न नसक्ने बताए । मानव स्वास्थ्य माथि गम्भिर असर पार्ने खालका कुराहरुमा कुनै व्यवसायीले लापरबाही गरे कारबाही गर्नका लागि आफुले सघाउने कुरामा समेत उनले जोड दिए ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तुलसीपुरका प्रमुख उज्ज्वल रायमाझीले बजार अनुगमनलाई प्रभावकारी ढँगले अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले उपभोक्ता सचेत हुनु सबैभन्दा महत्वपूर्ण कुरा भएको पनि वताए । ‘उपभोक्ताहरु नै कस्तो कुरा खाने या नखाने भन्ने बारेमा सचेत हुनु आवश्यक छ’ उनले भने ।
तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले खाद्य सुरक्षाका लागि कलेजले सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । उनले विद्यार्थीहरुलाई जंक फुडको प्रयोग धेरै गर्ने भएको हुँदा विद्यालयमा सचेतना फैलाउन आवश्यक रहेको वताए ।
कलेजका फुड एण्ड डेरी टेक्नोलोजी विभागका सुदर्शन गोसाईले खाद्य स्वच्छताको महत्वका बारेमा जानकारी गराएका थिए । उपप्रमुख स्यानी चौधरीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले गरेकी थिइन् ।