समावेशीतालाई जोड्दै पाँच जना कांग्रेसमा प्रवेश

प्रिया स्मृती गजमेर
देउखुरी, ११ असार
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले फरक पहिचान भएका पाँच जना व्यक्तिलाई पार्टी प्रवेश गराउँदै लोकतान्त्रिक आन्दोलनमा सबै समुदायको समान सहभागिता आवश्यक रहेको जनाएको छ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले नवप्रवेशीहरूलाई पार्टीको साधारण सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रवक्ता न्यौपानेले नेपाली कांग्रेस सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको पक्षमा उभिएको पार्टी भएको बताउनुभयो ।

उहाँले फरक पहिचान बोकेका व्यक्तिहरू समाजका अभिन्न सदस्य भए पनि अझै विभिन्न किसिमका विभेद, असमान व्यवहार र सामाजिक पूर्वाग्रहको सामना गर्न बाध्य रहेको उल्लेख गर्नुभयो । यस्ता चुनौतीलाई चिर्दै राजनीतिक, सामाजिक तथा नेतृत्वदायी भूमिकामा स्थापित हुन फरक पहिचान भएका व्यक्तिहरू अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“राजनीति केवल शासन सञ्चालनको माध्यम मात्र होइन, समाज परिवर्तनको महत्वपूर्ण साधन पनि हो । फरक पहिचान भएका व्यक्तिहरूले आफ्ना अधिकारका लागि आवाज उठाउने मात्र होइन, नेतृत्व तहमा पुगेर नीति निर्माणको प्रक्रियामा समेत सहभागी हुन आवश्यक छ,” न्यौपानेले भन्नुभयो । उहाँले समाजले गर्ने विभेदपूर्ण व्यवहारलाई चुनौती दिँदै आत्मविश्वासका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

प्रवक्ता न्यौपानेले नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, मानव अधिकार, समानता र समावेशिताको सिद्धान्तलाई सधैं आत्मसात् गर्दै आएको बताउँदै लोकतान्त्रिक मूल्य र सिद्धान्तप्रति प्रतिबद्ध सबै नागरिकलाई पार्टीमा स्वागत रहेको स्पष्ट पार्नुभयो । उहाँले नवप्रवेशीहरूलाई पार्टीको विचार, नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै समाज रूपान्तरणको अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा नवप्रवेशी पुरण थापा ९वर्षा० ले देशमा विभिन्न राजनीतिक दल सत्तामा पुगे पनि फरक पहिचान भएका समुदायका मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउन नसकेको अनुभूति आफूहरूले गरेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले भने विगतदेखि नै लोकतन्त्र, मानव अधिकार र समावेशी सहभागिताका विषयमा स्पष्ट धारणा राख्दै आएको कारण आफूहरू कांग्रेसप्रति आकर्षित भएको बताउनुभयो ।


हामी आफ्नो समुदायका समस्या, पीडा र अधिकारका विषयलाई संस्थागत रूपमा उठाउन सक्ने राजनीतिक मञ्चको खोजीमा थियौँ,” थापाले भन्नुभयो । उहाँले फरक पहिचान भएका व्यक्तिहरूको सम्मानजनक जीवन, अवसरको समान पहुँच तथा राज्यका विभिन्न निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

थापाले आफूहरूलाई अधिकार सम्पन्न, आत्मनिर्भर र सम्मानित नागरिकका रूपमा स्थापित गराउने राजनीतिक अभियानमा कांग्रेससँग सहकार्य गर्न चाहेको बताउँदै लोकतान्त्रिक मार्गबाट आफ्नो समुदायका मुद्दाहरूलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै अर्की नवप्रवेशी सलिना चौधरीले आफूहरू पनि यही समाजका नागरिक भए पनि अझै समाजको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले फरक पहिचान भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन आफूहरू सामाजिक तथा राजनीतिक रूपमा सक्रिय हुन चाहेको बताउनुभयो ।

“हामी समाजबाट अलग होइनौँ, यही समाजका सदस्य हौँ । तर अझै पनि धेरै ठाउँमा हामीलाई फरक नजरले हेर्ने गरिन्छ । अब त्यो सोच परिवर्तन गर्नुपर्छ,” चौधरीले भन्नुभयो । उहाँले समाजमा आफ्नो क्षमता, योग्यता र योगदानमार्फत सकारात्मक सन्देश दिन चाहेको बताउँदै फरक पहिचान भएका व्यक्तिहरू पनि नेतृत्व गर्न सक्षम छन् भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले राजनीतिक सहभागिताले आत्मविश्वास बढाउने, समुदायका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने तथा सामाजिक स्वीकृति विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाजमा रहेका विभेद, पूर्वाग्रह र गलत धारणाको अन्त्य गर्दै समान सम्मान र अवसर प्राप्तिका लागि आफूहरू निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।