
अन्जना बिश्वकर्मा
दाङ, १५ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित रामबहादुर दहित लामो समयदेखि हेमोफिलियाका बिरामी छन् । उनीसंगै उनका तीन दाजुभाई यो रोगबाट ग्रसित छन् । तर, समयमा औषधी नपाउँदा उनीहरु छटिपटिनु पर्ने अवस्था छ । बंशानुगत रुपमा हुने यो रोगबाट एकै घरका तीन दाजुभाई यसरी रोगबाट ग्रसित छन् । तर, यसको उपचारकालागि बुटवल वा काठमाडौं जानुपर्ने अवस्था छ । “हामीले नजिकमा औषधी पाउँदैनौं”,उनले भने “यसकालागि काठमाडौं वा बुटवल जानुपर्छ ।”
हप्तामा एक पटक वुटवल गएर फ्याक्टर नामक औषधी सुई मार्फत दिनुपर्छ । कुनै पनि कारणले शरीरबाट रगत बगेमा त्यो रोकिदैन । त्यो रोक्नकालागि फ्याक्टर नामक सुई नै लगाउनु पर्छ । तर, त्यो जिल्लामा नहुँदा बुटवल वा काठमाडौं नै जानुपर्ने अवस्था छ । त्यसरी टाढा जाँदा बिरामी बाटोमै मृत्यु हुन सक्ने उनको भनाई छ ।
फ्याक्टर पनि सहजै पाउन सक्ने अवस्था नभएको हेमोफिलिया पीडित शेरबहादुर चौधरीले गुनासो गरे । “फ्याक्टर ल्याउन बुटवल जानु पर्छ, तर, त्यही पनि पाउन मुस्किल हुन्छ”,उनले भने । फ्याक्टर नामक सुईको मूल्य नै महंगो छ । तर, सरकारले अहिले निःशुल्क गरेको छ । लुम्बिनी प्रदेश सरकारले निःशुल्क गरे पनि औषधी आपूर्ति भने सहज भएको उनको गुनासो छ । सरकारले हेमोफिलियाका विरामीलाई खासै चासो समेत नदिएको उनले गुनासो गरे । हाल लुम्निबीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलर र भेरि अस्पताल बाँकेमा पाइन्छ । दाङको तुलसीपुरमा मात्रै ६ जना हेमोफिलियाका विरामी छन् । तुलसीपुर उपमहानगर–पालिकाले हेमोफिलियाका बिरामीलाई सुई लगाउन बुटवल जाँदा सहज होस्, भनि वर्षेनी आर्थिक सहयोग गर्ने गरेको छ । चालु वर्षमा मात्रै पनि प्रति बिरामी १५ हजारका दरले आर्थिक सहयोग गरेको उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले बताए ।
के हो हेमोफिलिया ?
हेमोफिलिया रगतसम्बन्धि आनुवंशिक रोग हो । प्रोटिनको कमीबाट हुने यो रोग लागेपछि शरीरमा चोट लाग्दा या छाला काट्दा रगत नजम्ने समस्या हुन्छ । जसका कारण शरीरबाट रगत धैरै बगिसक्छ । यसैले यो रोगबाट बिरामीको मृत्यु समेत हुन सक्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन महाशाखा प्रमुख ओमपी न्यौपानेले बताए। “यो रोगको पूर्ण उपचार छैन । कुनै ठूलो चोट या दुर्घटनाका कारण हेमोफिलियाका रोगीको रगत बढी बग्ने सम्भावना भएकाले होसियार रहनुपर्छ ।”,उनले भने ।
यो रोग लागेका ब्यक्तीको पिसाबमा रगत आउनु, गुददवारबाट रगत आउनु, सानो चोट लाग्दा पनि गहिरो घाउ हुनु, विना कारण शरीरमा घाउ हुनु, चोट लाग्दा धेरै रगत आउनु, बेला–बेलामा नाकबाट पनि रगत आउनु, जोर्नीमा पीडा हुनु, बच्चामा चिडचिडाहट हुनु, कयौंपटक आँखा धमिलो देखिनु जस्ता लक्षण हुन्छन् । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १६ श्रावण २०८२, बिहीबार १०:३१ बजे