
तुलसीपुर, १२ साउन ।
घोराही–तुलसीपुर चारलेन सडक निर्माण आयोजाको काम सडक डिभिजन कार्यालय दाङले नै हेर्ने भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबाट ठेक्का सम्झौता तथा खरिद सम्झौता भएपनि सडक डिभिजन कार्यालय दाङले नै आयोजना हेर्ने भएको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।
अहिले सोही सडककालागि नयाँ ठेक्का भइ सम्झौता समेत भइसकेको छ । दिवा/बन्दन भगवती जेभी काठमाडौंले ठेक्का पाएर निर्देशनालयसंग सम्झौता गरिसकेको छ । यस अघि भारतीय एक्जिम बैंकको लगानीमा भारतीय ठेकेदारले नै काम गरेका थिए ।
त्यसकालागि छुट्टै परियोजनाले काम हेर्ने गर्थ्यो । त्यतिबेला पाँच वर्षसम्म पनि काम १० प्रतिशत पनि नभएपछि ठेक्का रद्द गरिएको थियो । अहिले नेपाल सरकारले नै बजेट विनियोजन गरेर नेपाली ठेकेदारले नै काम पाएका छन्, भने त्यसलाई हेर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय दाङले पाएको प्रमुख विष्टले बताए ।
उनका अनुसार दुई अर्ब ५२ करोड ३७ लाख दुई हजार तीन सय ६१ रुपैयाँमा तीन वर्ष भित्र सक्ने गरि सम्झौता भएको छ । करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रलाई चारलेन बनाईनेछ । घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मा सबै चारलेन बन्ने प्रमुख विष्टले बताए । फोरलेन सडककै लागि पुल पनि फोर लेन बनाउने गरि केही खोलामा ठेक्का समेत भएको छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । १३ श्रावण २०८२, सोमबार १९:१० बजे