
दीपक बोहरा
दाङ,३१ जेठ ।
आइतबार साँझ नै पूर्वमन्त्री लोकेन्द्र विष्टले खेति गरेको ड्रागन फ्रुटले फुल दिनकालागि कोपिला फाल्दै थियो । त्यो देख्दा पूर्वमन्त्री विष्ट फुरुङ्ग देखिन्थे । किनकी उनको अहिलेको खेति भनेको त्यही ड्रागनफ्रुट नै हो । लामो समय राजनीति गरेका विष्ट अहिले कृषिमा रमाइरहेका छन् । पहिले राजनीति जनताको पोल्टामा पार्न संघर्ष गर्ने र सफलतामा रमाउने विष्ट अहिले भने ड्रागनले फुलको कोपिला फाल्दा नै रमाउछन् । फलस्वरुप उनी आईतबार साँझ खुसी हुँदै सुते र, सोमबार विहानै ४ बजे उठे । उनी ब्यूझिदा उनले रोपेका ड्रागनले फुल फालेका थिए । ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ति ड्रागन फुल हेरेर रमाए ।‘राति फुलको कोपिला फाल्दा विहान फुल आउछ, भन्ने थाहा पाएँ’,उनले भने‘त्यही भएर विहान खुसीका साथ सबेरे उठ्दा फुलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ ।’
ड्रागन फ्रुटलाई रातका रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार विहान फुलेको त्यो फुल मंगलबार विहानसम्म ओइलिसक्छ । यो बर्ष विगतका बर्ष भन्दा बढि नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फुल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागनफ्रुट रोपेका छन् । उनले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोपेका छन्, भने त्यही फर्ममा ‘रातोमा रातो’ ड्रागनफ्रुट पनि रोपेका छन् । रातोमो सेतो जातले फल दिन थालेको यो तेस्रो बर्ष हो । तेस्रो बर्षको यो दोस्रो लट हो । साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो बर्ष हो । प्रत्येक बर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बीचमा ६ लटसम्म बर्षमा फल प्राप्त हुने विष्टको भनाई छ । विष्टका अनुसार बर्षेनी फल दिनेक्रम बढिरहेको बताएका छन् । विगतमा ३० क्वीन्टलसम्म फल भित्र्याउन सफल भएका विष्टले यस बर्ष ४० क्वीन्टलभन्दा बढि ड्रागनफ्रुट भित्र्याउने अपेक्षा लिएका छन् ।“यस बर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उनले भने“त्यसले गर्दा यस बर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।”

प्रत्येक लटमा फुल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ । एउटा सेतो फल ५ सय ग्रामसम्म हुने गर्छ, भने रातो फल ३ सय ग्रामम्म हुने गरेको उनी बताउछन् । विष्टले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेति सुरु गरेका हुन् । त्यही खेतिबाट उनले विगतमा बार्षिक २० लाखसम्म आम्दानी गर्ने गरेका छन् । फल मात्रै नभए विरुवाबाट पनि बार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उनी बताउछन् ।
अहिले उनले उत्पादन गरेका विरुवा दाङ मात्रै होईन्, बाहिरी जिल्लामा पनि उत्तिकै विक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यबसायिक ड्रागन खेति गरेका हुन् । यस अघि पनि उहाँ कालो धानको खेति गरेर चर्चामा थिए । उनले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गरेका हुन् । १५ बर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेका उनले बार्षिक ४० लाख तिर्छन् ।




लाइभदाङ । ३१ जेष्ठ २०७९, मंगलवार १३:१२ बजे