शक्तिशालि राप्रपा निर्माण गर्ने सन्दर्भमा म त्याग गर्न तयार छु,चूनौती मोल्न पनि तयार छु : देवकोटा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य, शिक्षाबिद, समाजसेवी सरिता देवकोटासँग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर लाइभदाङ डटकमको साता कुराकानिका लागि गरेको कुराकानिको सारसंक्षेपमा…

स्वागत छ लाइभदाङ डटकमको साता कुराकानिमा ?
धन्यवाद !

आराम हुनुहुन्छ ?
म त आराम छु तर मेरो देश स्वस्थ हुनु प¥यो ।

तपाईको व्यस्तता आजभोलि केमा  रहेको छ ?
म हिजो आज पार्टीकै काममा व्यस्त छु, पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने उद्देश्यका साथ संगठन सुदृढीकरणका लागि निरन्तर कार्यकर्ताहरु माझ पुगिरहेको छु । कार्यकर्ताहरुले दिएको सल्लाह सुझावलाई शीरोधार्य गर्दै पार्टी संगठन सुदृढीकरण अभियानलाई तीव्र गतिमा अघि बढाई दाङ जिल्लालाई राप्रपामय जिल्ला बनाउनमा क्रियाशील छु साथै म धेरै समाजिक संघ संस्थामा आवद्ध भएकोले सामाजिक कार्यमा ब्यस्त छु ।

राप्रपामा आबद्ध भएपछि के कस्ता जिम्मेवारीहरु पाउनु भएको छ ?
हजुरले राम्रो विषय उठाउनु भयो । राप्रपाले उठाएका मुद्धाहरुलाई कार्यन्वयन गर्नको लागि पार्टीले दिएको जिम्मेवारीलाई बहन गरिरहेकी छु । मैले पहिला नै भनेकी थिए म ब्यक्तीगत स्वस्थ्य हुने नहुने कुराले राष्ट्रलाई त्यति फरक पर्दैन तर देश स्वस्थ्य हुनु प¥यो । देशको अवस्था र व्यवस्था बदल्नकोलागि सदन, सडकमा आन्दोलन गरिरहेका छौ ।

आन्दोलनको उदेश्य राजसंस्था र हिन्दुराज्य पुनस्थापनाको लागि हो ?
आन्दोलनको प्रमुख उदेश्य जनताको जीवनस्तर उकास्नकोलागी हो ।  जनताको अवस्था परिवर्तनकोलागी  देशको व्यवस्था परिवर्तन गर्नुपर्दछ । राज्य पुर्नसंरचना नभएसम्म देशको अवस्था परिवर्तन हुन सम्भव छैन । अब संघीयताको कुरा पनि आइरहेको छ । हाम्रो जस्तो सानो मुलुकमा तीन तहको सरकार आवश्यक छैन । संघियतालाई देशको आर्थिक अवस्थाले थेग्न सकिने देखिदैन । वास्तवमा केन्द्र र तल्लो तह स्थानीय निकाय मात्र हुनुपर्दछ । अहिलेसम्म भएका राष्ट्र प्रमुख दल विशेषका भए अव स्वतन्त्र संस्था अभिभावकिय भूमिकामा राजसंस्था हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो । विश्व कै सबैभन्दा पुरानो धर्म वैदिक सनातन धर्म हो । यहाँ ९४ प्रतिशत ओमकार सनातनी वसोवास गर्ने मुलुकमा धर्म निरपेक्ष हुनै सक्दैन । विश्वको सबैभन्दा विशिष्ठ सभ्यता भएको हाम्रो मुलुकमा धर्म सभ्यताको जननी हो । विश्वमा आफ्नो पहिचान कायम गर्नकोलागि सनातन हिन्दुराज्य हुनु अनिवार्य छ ।

राप्रपालाई हिन्दूधर्म र राजाको एजेण्डा बोकेर राजनीति गरेको आरोप लाग्ने गर्छ ?
हामीले राजा र हिन्दू राष्ट्रको नाममा राजनीति गर्न खोजेको होइन । ०६२/६३ को आन्दोलनपछि जब राजसंस्था–हिन्दूराज्यलाई पाखा लगाइयो, राजाको कुरा गर्दा जीब्रो थुत्ने स्थिति थियो । हाम्रो स्वार्थ हिन्दूराज्य र राजसंस्थाको कुरा उठाएर चुनाव जित्नु होइन । मुलुकको हितसँग सम्बन्धित भएका कारण रिस्क मोलेर यो विषय उठान गरेका हौं । राजनीतिमा रहेर धर्मको कुरा गर्न डराउनु हुँदैन । हरेक मान्छेले धर्मलाई जोडेर गयो भने त्यो राजनीति शुद्ध, पवित्र हुन्छ ।

हामी धर्मसहितको राजनीति गर्दछौँ हाम्रो पार्टीका श्रेद्धय अध्यक्ष श्री राजेन्द्र लिङदेनले सधै भन्ने गर्नुहुन्छ  भ्रष्टाचार गर्नु आमाको रगत खाए बराबर हो भन्नुहुन्छ हामी वहाका कार्यकर्ता हौं । अरुहरु धर्ममा विश्वास गर्दैनन्, धर्मरहित राजनीति गर्दछन् तर भ्रष्टाचार गर्न छोडदैनन् । आजभोली दिन प्रतिदिन भ्रष्टाचारका नया नया काण्डहरु सार्वजनिक भैईरहेका छन् । हामीकहाँ नबुझिकन धर्मनिरपेक्षता लादियो । धर्मान्तर बढ्दै जाँदा धार्मिक द्वन्द्व नहोस् भनेर मात्रै हामीले हिन्दूराज्यको कुरा गरेका हौं । हिजो हिन्दूराष्ट्र हुँदा कुनै प्रकारको विभेद थिएन । हामीले सर्व धर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र हुनुपर्छ भन्दै आएका छौँ । मुलुकमा पछिल्लो समयमा विकशित राजनितिले देश अभिभावक विहिन भएको छ । यो अवस्थामा एउटा सच्चा अभिभावक मुलुकलाई चाहिएको छ । त्यसकालागी संवैधानिक राजसंस्था हामीले चाहेको हो । त्यस्तै अर्को गहन विषय भनेको हिन्दु राज्यको पनि हो ।

नेपाललाइ हिन्दु राज्य घोषणा गरीनु कुनै अन्यायको विषय पनि होइन । अन्य जातजाती र धर्मावलम्विहरुको धार्मिक र सांस्कृतिक अधिकारको सम्मान गर्दै नेपाललाइ हिन्दु राज्य घोषणा गरीनु पर्दछ । यसकालागी दुइवटा विकल्प छन् । नेपालको संघात्मक संविधान सहमतीको दस्तावेज भएकाले अपरीवर्तनिय पनि छैन । त्यसैले सरकारले संसदको दुइतिहाइ वहुमतले संसदबाटै हिन्दु राज्यको एजेण्डा अनुमोदन गराउन पनि सक्छ । अर्को विकल्प भनेको जनमत संग्रहको पनि हो । यी दुइ मध्ये एउटा विकल्पको उपयोग गरेर नेपाललाइ हिन्दु राज्य घोषणा गर्नुपर्दछ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टिको आधिकारीक धारणा हो ।यहि एजेण्डालाई लिएर हामी जनताका माझमा गएका छौं ।


राप्रपाले मुलुकलाई हिन्दुराष्ट्र कायम गराउनको लागि कस्तो कार्यक्रम गरिरहेको छ ?
राप्रपाले मुलुकलाई हिन्दुराष्ट्र कायम गराउनको लागि विभिन्न कार्यक्रमहरु लिई जनताहरु माझ पुगेको छ । राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ, जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायहरुमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । मुलुक हिन्दुराष्ट्र कायम गरिनुपर्छ भन्ने सरकारलाई ज्ञापनपत्र बुझाएको हो। सरकारले हाम्रो माग अवश्य सम्बोधन गर्नेछ र मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

अहिले मुलुकमा धर्म परिवर्तन गराउनेहरुको संख्या दिनानुदिन बढ्दो छ यसको रोकथामका लागि राप्रपाले के गर्दै छ ?
हाम्रो मुलुकमा ९४ प्रतिशत ॐकार परिवार रहेका छन् । ती ॐकार परिवारको आस्थालाई कसैले घेराबन्दीमा पारेर धर्म परिवर्तन गराउन खोज्छ भने त्यो आफै नष्ट भएर जाने पक्का छ । ढिलो चाँडो नेपाली जनताले स्वस्फूर्त रुपले हिन्दुधर्मप्रति वितृष्णा फैलाउनेहरुलाई लखेट्ने छन् । राप्रपाले जनताको चाहनाअनुसार हिन्दुधर्मको संरक्षण, सम्बद्र्धनको लागि निरन्तर आवाज उठाइ रहेको छ, सामाजिक सद्भाव कायम हुनुपर्छ भन्ने माग गरिरहेको छ, कसैले कसैको धर्मप्रति हस्तक्षेप गर्नु हुँदैन भनिरहेको छ, सामाजिक सचेतनामुलक कार्यहरु जनतामाझ लगिरहेको छ र सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा त्यस्ता धर्म परिवर्तन गराउँदै हिड्नेहरुलाई कारबाहीको माग सहित ज्ञापन पत्र बुझाएका छौं ।

के मुलुकमा राजसंस्था पुनःस्थापित हुने सम्भावना छ ?
राजनीतिको शब्दकोषमा असम्भव भन्ने केही पनि हुँदैन । यदि जनताले चाहे भने जस्तोसुकै कार्य पनि सम्भव भई छोड्छ ।  हामीले विश्व इतिहासलाई हे¥यौं भने पनि त्यस्ता कयौं उदाहरणहरु हाम्रा सामु छन् । मुलुकमा सर्वेसर्वा जनता हुन्छन्, यदि जनताको चाहना राजसंस्था पुनःस्थापित गराउने भयो भने राजसंस्था अवश्य पुनःस्थापित हुन्छ । नेपालको दोस्रो जनआन्दोलनको म्यान्डेड सक्रिय राजतन्त्रको अन्त्य थियो संवैधानिक राजसंस्थाको थिएन । अब समय आइसकेको छ, जनताले बुझि सकेका छन् र जनताले नै राजसंस्था पुनःस्थापित गराउने कुरामा दुईमत छैन ।

राप्रपाको दाङमा संगठन सुदृढीकरण अभियान कस्तो छ ?
राष्ट्रिय प्रजातन्त्र पार्टी दाङको संगठन सुदृढीकरण अभियान तीव्र रुपमा अघि बढेको छ । जिल्ला स्थित सम्पूर्ण  स्थानीय तहसम्म आफ्नो संगठन विस्तार गर्ने अभियानमा रहेको छ । पार्टीका जनवर्गीय संगठनहरुले पनि संगठन सुदृढीकरण अभियानलाई तीव्र गतिमा अघि बढाएका छन् । राष्ट्रियता, प्रजातन्त्र, उदारवादमा विश्वास राख्ने सम्पूर्ण नेपाली जनताहरु राप्रपा निकट रहेको हामीले पाएका छौं । राष्ट्रवादीको मुल जरो हामी भएकोले हामीलाई संगठन सुदृढीकरण गर्न खासै अप्ठ्यारो भएको छैन । दाङ जिल्लामा राप्रपाले संगठन सुदृढीकरण अभियानलाई द्रुत गतिमा अघि बढाउदै जनताको मनभित्र बस्न सफल भएको मेरो बुझाइ छ ।

राप्रपा जनतामाझ कस्तो कार्यक्रम लिई गएको छ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियताका मुद्दाहरु जनता माझ लिएर गएको छ । सरकारले गरेका गलत कामहरुको भण्डाफोर जनता माझ गर्दै आइरहेको व्यहोरा तपाईहरु माझ जानकारी गराउन चाहन्छु ।

तपाईले राजनीतिक यात्रा कहिलेदेखि प्रारम्भ गर्नु भयो ?
मेरो परिवारिक पृष्ठभूमि राजनीतिमय छ । मेरो पिताजी पनि राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । पिताले गरेको समाजसेवाबाट म प्रभावित भएको थिए । म सानै उमेरबाट समाजसेवामा क्रियाशील भए । पिताजीको प्रेरणाबाट म समाजसेवी हुँदै राजनीतिमा क्रियाशील हुन पुगे । विगतमा मैले शिक्षण पेशालाई अंगाल्दै समाजसेवालाई क्रियाशील बनाइ राखे, मैले विभिन्न क्षेत्रमा रही समाजसेवा गरिसकेको छु । हाल राप्रपाको केन्द्रीयको हैसियतले पार्टीले दिएको सम्पूर्ण जिम्मेवारीहरु स्वःस्फुर्तरुपमा वहन गरिरहेको छु ।

तपाईका शुभेच्छुक तथा कार्यकर्तालाई केही भन्नु छ ?
राष्ट्रियता, प्रजातन्त्र र उदारवादको संरक्षणको लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी छ । त्यसका लागि राप्रपाका आम कार्यकर्ताहरु एक ढिक्का हुन जरुरी छ । राप्रपाको संगठन सुदृढीकरण अभियानमा सम्पूर्ण कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा मैले लिएको छु । जनताको चाहना संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र कायम हुनुपर्छ भन्ने रहेको छ यसमा तपाईहरुको साथ र सहयोगको खाँचो हामीलाई रहिरहनेछ ।

अन्त्यमा …………………
मलाई समसामयिक राजनीतिक विषयमा मेरा विचारहरु राख्ने सुअवसर दिनुभएकोमा तपाई लगायत यस लाइभदाङ डटकम टिमलाई धन्यवाद दिन चाहन्छु ।