गंगादेवी चन्द ठकुरीद्वारा स्व.आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागरलाई नगद तथा खाद्यान्न सहयोग

तुलबहादुर कवँर मगर
सिसहनियाँ, ७ साउन।
दाङको राप्ती गाउँपालिका–१, भालुवाङ घर भई हाल हङकङमा बसोबास गर्दै आउनुभएकी समाजसेवी गंगादेवी चन्द ठकुरीले आफ्नी स्वर्गीय आमा नन्ददेवी मल्लको सम्झनामा नीलसागर सेवा आश्रमलाई नगद तथा खाद्यान्न सहयोग गर्नुभएको छ।

उहाँले बुधबार आफन्तजनसहित वडा नं.८, मिलनडाँडामा रहेको आश्रममा पुगेर कार्यवाहक अध्यक्ष गरिबु चौधरीलाई नगद १० हजार १ सय ५ रुपैयाँसहित दाल, चामल, नुन र तेल लगायतका दैनिक उपभोग्य सामग्रीहरू हस्तान्तरण गर्नुभयो।

सहयोग कार्यक्रममा उहाँकी आफन्त मिरा थापा, शेरबहादुर हमाल, अर्जुन चौधरीलगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा कार्यवाहक अध्यक्ष चौधरीले आश्रमप्रति देखाइएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै सामाजिक उत्तरदायित्वमा थप उदाहरणीय भूमिका निर्वाह भएको बताउनुभयो।


सहयोग दात चन्द ठकुरीले आफ्नो सानो सहयोगले आश्रममा रहेका बेसहारा नागरिकहरूलाई थोरै भए पनि राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो।