लमहीमा आठौं राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने

प्रिया स्मृती गजमेर,

लमही, २८ मंसिर । लमही नगरपालिकाले यही पुस १०, ११ र १२ गते आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएको छ । लमही नगरपालिकाको शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

शिक्षा शाखा प्रमुख केशब लम्सालका अनुसार प्रतियोगिता सफल रूपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरू गठन गरिएको छ । प्रतियोगिता व्यवस्थापन तथा निर्देशनका लागि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा व्यवस्थापन तथा निर्देशक समिति गठन गरिएको छ ।


यस्तै, उपप्रमुख लक्ष्मी योगीको संयोजकत्वमा विवाद समाधान उपसमिति, वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण चौधरीको संयोजकत्वमा खेलकुद प्राविधिक उपसमिति, वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको संयोजकत्वमा पत्राचार तथा प्रचार–प्रसार उपसमिति र शिक्षा शाखा प्रमुख केशब लम्सालको संयोजकत्वमा सचिवालय कार्यसमिति गठन गरिएको छ ।

प्रतियोगितामा चालु शैक्षिक सत्र २०८२ को चैत मसान्तसम्म भर्ना भएका १८ वर्ष मुनिका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने शिक्षा शाखाले जनाएको छ ।

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लमही नगरपालिका–६ स्थित सिसौ बगरमा आयोजना हुने छ ।