दाङमा कुटपिटपछि एक किशोरको मृत्यु, अर्का घाइते

प्रिया स्मृती गजमेर
देउखुरी, २० चैत
दाङको राप्ती गाउँपालिकामा कुटपिटपछि एक किशोर मृत फेला परेका छन् भने अर्का एक घाइते भएका छन् । राप्ती गाउँपलिका–२ बह्राखुट्टी निवासी स्मिथ प्रधानको शव फेला परेको छ । गएराती करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानी बस्ने १६ वर्षीय आयुशमान थापा मगर र राप्ती गाउँपालिका–२ बह्राखुट्टी बस्ने १७ वर्षीय स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै हिँडेका थिए ।

उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि एक्कासी २ महिला र २ पुरुष अपरिचित व्यक्तिहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो ।

घटनापछि आयुशमान राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए । त्यसपछि उनको उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया लगिएको थियो । हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।


घटनाबारे बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घाइते आयुशमानसँग सोधपुछ गर्दा सुरुमा केही नबताए पनि पछि उनीसँगै स्मिथ प्रधान रहेको बताएका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा थप टोली खटाइएको थियो । खोजतलासका क्रममा घटनास्थलदेखि करिब १।५ किलोमिटर पूर्वतर्फ दोलई खोलाको सुख्खा नालामा टाउकोमा चोट लागेको अवस्थामा स्मिथ प्रधान मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा आफन्तहरू समेत पुगिसकेको र कुटपिटमा संलग्न व्यक्तिहरू फरार रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार आयुशमानलाई ‘देबीसरा गाहा’ र ‘स्वस्तिका रानामगर’ नामबाट फेसबुक मेसेन्जरमार्फत भेट्न बोलाइएको र त्यसपछि उनीहरू घरबाट निस्किएको बुझिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।