तुलसीपुर खानेपानी निर्वाचन :यमकान्तको अंगालोमा बाँधिए ‘पवन’

तुलसीपुर
१८ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा विजयी भएका यमकान्त भण्डारीलाई उनका निकटतम प्रतिद्वन्दी पवन बुढाथोकीले बधाई दिएका छन् ।

खानेपानी कार्यालयमा ९ दलिय गठबन्धनले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा पुगेर पवन भण्डारीको अंगालोमै बाँधिएका थिए । उनको यो राजनीतिक संस्कार सम्मानयोग्य भएको भन्दै सबैले प्रशंसा समेत गरेका थिए ।

साथै बुढाथोकीले सहयोग र मतदानका लागि उपभोक्तालाई अभार प्रकट गरेका छन् । ‘यहि पौष १७ गते सम्पन्न निर्वाचनमा मलाई अमूल्य मत दिनुहुने मतदाता, उपभोक्ता, निर्वाचन सम्पन्न गर्न अहम भूमिका खेल्ने अग्रज व्यक्तित्व, निर्वाचन समिति, सुरक्षाकमी र संचारकर्मीलाई हादिर्क आभार तथा कृतज्ञता प्रकट गर्दछु ।’ उनले भने‘आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षासहित सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’


उनले आफु अध्यक्षमा पराजित भएपनि संस्थाको हितका लागि निरन्तर लागिरहने बताए । खेल मैदानमा उत्रिएपछि जित वा हार निश्चित भएकाले पनि यसमा आफु विचलित नभएको र अरु पराजित उमेदवारलाई विचलित नहुन आग्रह गरेका छन् ।

तुलसीपुरमा खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि नेतृत्वलाई दिनुपर्ने साथ र सहयोग आफुबाट कुनै कमि नहुने पनि उनको भनाई छ । शनिबार भएको निर्वाचनमा उनले १ हजार ७ सय ६७ मत प्राप्त गरेका थिए ।