लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

देउखुरी, १८ पुष ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो ।

सोमवार दुई वटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।


दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ ’पारित गरियोस् भनी प्रस्ताव गर्ने छन् । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको थियो ।

यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।