
काठमाडौं, १ साउन । आजदेखि नयाँ आर्थिक वर्ष २०८२–८३ सुरु भएको छ । योसँगै गत जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले संसद् बैठकमा सार्वजनिक गरेको बजेट पनि कार्यान्वयनमा आएको छ ।
सरकारले यस आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । गत आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा यो १ खर्ब ३ अर्ब ८१ करोडले बढी हो । सरकारले गत आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु आर्थिक वर्षमा राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड व्यहोर्ने योजना बनाएको छ । आजदेखि नै मौद्रिक नीति पनि कार्यान्वयनमा आएको छ । गत असार २७ गते राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आव २०८२–८३ को मौद्रिक नीति ल्याउनुभएको थियो ।
सामान्यतया आर्थिक वर्ष सुरु भएपछि मात्र मौद्रिक नीति ल्याउने प्रचलन भए पनि यसपटक भने असारमै ल्याइएको हो । गभर्नर पौडेलको यो पहिलो मौद्रिक नीति हो । मौद्रिक नीति कार्यान्वयनमा आएसँगै आजदेखि आफूसँग भएको सेयरलाई धितोको रुपमा राखेर २५ लाख रुपैयाँसम्म कर्जा पाइने भएको छ ।
राष्ट्र बैंकले यसका लागि बुधबार नै परिपत्र जारी गरिसकेको छ । सेयरलाई धितोमा राखेर पाइने कर्जाको सीमा मार्जिन प्रकृतिका कर्जाको लागिमात्र हो ।
यसैगरी आजदेखि पहिलो पटक आवासीय प्रयोजनका लागि घर किन्ने व्यक्तिले मूल्यांकनको ८० प्रतिशतसम्म कर्जा पाउने भएका छन् । हाल ७० प्रतिशत रहेको लोन टु भ्यालु रेसियोलाई बढाएर ८० प्रतिशत पुर्याइएको छ । यस्तो कर्जा ३ करोड रुपैयाँसम्म पाइने भएको छ । यसअघि आवासीय कर्जा २ करोड रुपैयाँसम्म लिन पाइन्थ्यो ।
मौद्रिक नीतिका अन्य व्यवस्थाहरु पनि आजबाट कार्यान्वयनमा आएका छन् । यसअनुसार बैंकहरुले त्रैमास अन्त्यको वित्तीय विवरण प्रकाशन गर्ने समय थपिएको छ । अबदेखि त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्न पाइनेछ ।



लाइभदाङ । २ श्रावण २०८२, बिहीबार ०७:५७ बजे