
मसुरिया, २९ जेठ।
दाङको राप्ती गाउँपालिकाले नेपाल सरकारको उपसचिव पदमा सिफारिस भई नयाँ जिम्मेवारीमा जान लाग्नुभएका गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वरिष्ठ शिक्षा अधिकृत विश्वास विकलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न गरेको छ।
करिब सात वर्षसम्म गाउँपालिकाको शिक्षा शाखा प्रमुखका रूपमा कार्यरत विकलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक तथा कर्मचारीहरूले टीका, फूलमाला र सम्मानपत्र प्रदान गरी बिदाइ गर्नु भएको हाे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा शाखा प्रमुखका रूपमा विकले पुर्याउनुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले राप्ती गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापन सुदृढीकरण, शैक्षिक योजना कार्यान्वयन तथा शिक्षा क्षेत्रमा नवीन अभ्यासको विकासमा विकले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उपसचिव पदमा सिफारिस हुनु सम्पूर्ण गाउँपालिकाकै गौरवको विषय भएको भन्दै उहाँले आगामी कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले विकको कार्यसम्पादन, इमान्दारिता र जिम्मेवारीप्रतिको समर्पण उदाहरणीय रहेको बताउनुभयो। उहाँले विकजस्ता दक्ष, कर्तव्यनिष्ठ र लगनशील कर्मचारी सार्वजनिक प्रशासनका लागि आवश्यक रहेको उल्लेख गर्दै नयाँ जिम्मेवारीमा समेत सफलताको शुभकामना दिनुभयो।
स्वास्थ्य शाखा प्रमुख नारायण राउतले विकको कार्यशैली, समन्वय क्षमता र सेवाप्रतिको समर्पण सबै कर्मचारीका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो ।त्यस्तै राउतले नयाँ जिम्मेवारीमा समेत विकले उत्कृष्ट कार्यसम्पादन गर्दै सफलताको नयाँ उचाइ हासिल गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।
बिदाइ कार्यक्रममा बोल्दै वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले आफ्नो कार्यकालभरि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी,विद्यालय व्यवस्थापन समिति तथा राप्तीवासीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो। राप्ती गाउँपालिकामा काम गर्ने अवसर पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउँदै उहाँले यहाँको साथ, सहयोग र अनुभवलाई सधैँ सम्झिरहने बताउनुभयो।
अन्यत्र जिम्मेवारीमा गए पनि राप्ती गाउँपालिकासँगको सम्बन्ध सधैँ कायम रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी दिनमा समेत विभिन्न माध्यमबाट सहकार्य र समन्वयलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले विकको कार्यकुशलता, नेतृत्व क्षमता र समर्पित सेवाको प्रशंसा गर्दै आगामी कार्ययात्राको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।



लाइभदाङ । २९ जेष्ठ २०८३, शुक्रबार २१:२६ बजे