
काठमाण्डौ, २८ असार । शुक्रबार राति देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ । भेलबाढी आउने गरी कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति भने केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । शनिबार देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ ।



लाइभदाङ । २८ असार २०८२, शनिबार ०८:०४ बजे