
तुलसीपुर,२० असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित मावि दोघरेले विद्यार्थीको ८० प्रतिशत हाँजिरी नभए बार्षिक परीक्षामा सहभागि हुन नपाउने निर्णय गरेको छ । विद्यार्थीहरु विद्यालयमा सहभागि नहुँदा त्यसले सकारात्मक नतिजा दिन नसक्ने भन्दै यस्तो निर्णय गरिएको प्रधानाध्यापक सुनिता यादवले बताईन् ।
उनका अनुसार कक्षा ८, ९ र १० का विद्यार्थीहरुमा यो निर्णय लागु हुनेछ । सोही कक्षाका विद्यार्थी,अभिभावकबीच शुक्रबार भएको अन्तरक्रिया पछि यस्तो निर्णय गरिएको हो । त्यस्तै प्रथम त्रैमासिक, दोस्रो त्रैमासिक र टेस्ट परीक्षामा लगातार फेल हुने विद्यार्थीहरुलाई पनि वार्षिक परीक्षामा सहभागी नगराउने नर्णय गरिएको उनले बताईन् ।
विद्यालयका प्रिन्सिपल सुनिता यादवको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मुक्तिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि मुक्तिप्रसाद न्यौपानेले विद्यार्थीहरूले असल संस्कार, सिक्नुपर्ने र अध्ययनको लागि दत्तचित्त भएर लाग्नु पर्ने बताए । उनले विद्यालयका प्रधानाध्यापकले अभिभावकहरूबाट आएका गुनासा र सल्लाहहरूलाई आगामी दिनमा अवलम्बन गरी विद्यार्थीको थप उपलब्धिको लागि गतिबिधि अगाडी बढाउनु पर्ने बताए ।
त्यस क्रममा अभिभावकहरूले आफ्ना विद्यार्थीहरूले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी दिएका र्थि, भने विद्यार्थीहरुले विद्यालयमा गरेका उपलब्धि र उनीहरुका कमीकमजोरीहरूको बारेमा पनि जानकारी गराएका थिए । शिक्षक अभिभावक संघका शिक्षक प्रतिनिधि कृष्णप्रसाद शर्माले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सूचना अधिकारी मेघराज पोखरेलले गरेका थिए ।




लाइभदाङ । २० असार २०८२, शुक्रबार २२:१७ बजे