
बुटवल, १८ असार ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले उक्त बजेट पारित गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सोही बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख तुलाराम घर्ती मगरले निर्णायार्थ प्रस्तुत गरेपछि उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए ।
पारित बजेटमध्ये चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । त्यस्तै, वित्तीय हस्तान्तरणका लागि तीन अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत विनियोजन गरिएको छ ।



लाइभदाङ । १८ असार २०८२, बुधबार २०:२१ बजे