रोल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते

रोल्पा, १६ असार।
रोल्पाको त्रिवेणी गाउँपालिका–३ सुकिदहस्थित भीत्री सडक खण्डमा डबल क्याप जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक गंगादेव गाउँपालिका–४ का २२ वर्षीय चन्द्र प्रकाश केसी, सोही ठाउँका ३२ वर्षीय दिपक थापा, ३२ वर्षीय कमल डाँगी, २७ वर्षीय प्रकास थापा, ४३ वर्षीय बिर बहादुर थापा र २७ वर्षीया अमृता थापा रहेका छन्।

आज दिउँसो करिब २ बजे बसारेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.१ ज.६३१ नम्बरको जिप अनियन्त्रित भई करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।


घाइतेहरूलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङ ल्याईइएको प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुढागाउँबाट प्रहरी निरीक्षक राजकुमार घर्तीको कमाण्डमा पाँच जना प्रहरीको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।